ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

बाबुरामको पार्टी पुन बिभाजन, नेसपाको यादव समूह माओवादीसँग एकता घोषणा

काठमाडौं,३ चैत

नेपाल समाजबादी पार्टी पुन बिभाजन भएको छ । नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूह र नेकपा माओवादी केन्द्र बीच शनिबार एकता घोषणा भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको भन्दै माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ भने नेपाल समाजवादी पार्टीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सदस्य हुनुहुन्छ ।
सहअध्यक्ष श्रेष्ठले एकता गर्ने आफ्नो पार्टीको आधिकारिक निर्णय भएको दाबी गर्नुभयो ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने धेरै पुरानो कुरा हो भन्दै उनले विविध कारणले ढिलाइ भएको बताउनुभयो । ‘पार्टी एकता गर्न नसकेपछि माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको हो ।

एकता घोषणाप्रति नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा। बाबुराम भट्टराईले आपत्ति जनाउनुभएको छ । भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाउनुभएको थियो । तर बैठकको अघिल्लो दिन अर्का अध्यक्ष यादव समूहले माओवादी केन्द्रसँग एकता घोषणा गरेको हो ।

एकता घोषणालाई भट्टराईले आफ्नो पार्टी अपहरण गरेको संज्ञा दिनुभएको छ । सञ्चार माध्यममा प्रतिक्रिया दिँदै उहाले भन्नुभयो, ‘यो त कुनै पार्टीलाई अपहरण गरेर लगेजस्तो अुनभूति भएको छ ।’
भट्टराईले पार्टी एकताका लागि बनाइएको वार्ता समिति आफ्नो अध्यक्षतामा रहेको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादवले प्रचण्डसँग गरेको एकता वार्ताको वैधानिकतामाथि प्रश्न उठाउनुभएको छ । त्यसैले यो घटनालाई बाबुरामले पार्टीका केही मानिस माओवादीमा सामेल भएको व्याख्या गर्नुभयो।
यादव समूहले भने भट्टराईले बोलाएको पार्टीको बैठक आधिकारिक नभएको पनि जिकिर गरेको थियो । महासचिव रमेशप्रसाद यादवले दुबै अध्यक्षले सहमतिमा बोलाएको बैठक मात्र आधिकारिक हुने भन्दै महिन्द्र राय यादवको अहमति रहेको भन्दै १ चैतमा विज्ञप्ति जारी गर्नुभएको थियो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर डा बाबुराम भट्टराई र महिन्द्र राय यादवले २०७९ साउनमा नेपाल समाजवादी पार्टी गठन गर्नुभएको थियो । त्यसै वर्ष ४ मंसिरमा भएको आम चुनावमा अध्यक्ष यादवले माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *