काठमाण्डौ –फागुन ३०,
पार्टी सञ्चालनमा श्रीमान र श्रीमतिको बिबादका कारण नागरिक उन्मुक्ति पार्टी कम्जोर बन्दै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वासको मत दिने बारे श्रीमान रेशमलाल चौधरीले असहमत र श्रीमति रञ्जिता श्रेष्ठले समर्थन जनाउदै छुटाछुटै बिज्ञप्ती जारि गर्नुभएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्विप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।
श्रेष्ठ पक्षले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, तर प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी सम्वाद अघि बढाउने भनेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ । प्रदेश सभामा नागरिक उन्मुक्तिका सात सांसद छन् । चौधरी पक्ष कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दै कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीमा निरन्तरताको अडानमा छ ।
उन्मुक्तिका सातमध्ये पाँच जना सांसद प्रदेश सरकारमा मन्त्री भैसकेका छन् । अध्यक्ष श्रेष्ठले भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको बताउँदै सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिनुुभएको छ । तर उहाँको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

