ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

सुशील बस्नेत
दाङ तुलसीपुर,२० माघ ( २ बजे )
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को हलवारमा मानव सेवा आश्रम निर्माण हुने भएको छ । अवको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो । महायज्ञ संचालन गरि त्यसबाट ५ करोड रुपैया संकलन गर्ने उदेश्य रहेकोमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको महायज्ञबाट लक्ष्य पुरा हुने गरि रकम संकलन भएको हो । महायज्ञबाट नगद र प्रतिबद्धता समेत गरि झण्डै ५ करोड सहयोगको योगदान प्राप्त भएको छ । शनिबार दिउँसो २ बजे सम्म ४२ लाख ७३ हजार ३ सय ७ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको छ । अपरान्ह् ४ बजे सम्म १ करोड बढि संकलन हुन सक्ने अपेक्षा योगदान कक्षले जनाएको छ । शनिबारको दिन दर्शनार्थी भक्तजनको अधिक उपस्थीति रहेको थियो ।
शुक्रबार झण्डै ४ करोड आर्थिक संकलन भएको थियो । शुृक्रबार नगद र प्रतिबद्धता समेत गरि ३ करोड ८१ लाख ६७ हजार ३ सय ९३ रुपैया सहयोग प्राप्त भएको थियोे ।


पतञ्जली योगद्धारा महायज्ञ स्थलमा सरसफाई

गत माघ १३ गते सञ्चालन गरीएको महायज्ञ स्थल अरणीको मैदानमा दैनिक रुपमा पतञ्जली योग समितिले सरसफाई गर्दै आएको छ । दिनभर भक्तजनबाट जम्मा भएको फोहरलाई अरणीको योग साधना केन्द्र, हात्तीखौवा योग साधना केन्द्र, भ्युहाँर थान योग साधना केन्द्र तुलसीपुरले सरसफाई गर्ने गरिएको योग अभ्यासकर्ता पुष्कर श्रेष्ठले जानकारी दिनुभयो । तर पनि सरसफाईमा तुलसीपुर उपमहानगरपालिका जुटिरहेको छ । सरसफाई उपसमितिका संयोजक खेमकान्त पाण्डेको नेतृत्वमा भईरहेको छ ।

पिउँने पानीको ब्यबस्थापन खड्का सप्लायर्स

खडका सप्लायर्स तुलसीपुरले माघ १३ गतेदेखि महायज्ञ स्थलमा पिउने पानीको ब्यबस्थापन गरिएको छ । उक्त सप्लायर्सले २० लिटरका २ सय १० वटा पानीको जारको १० हजार ५ सय र ८० बढि कार्टुनको १२ हजार ८सय गरि करिव २३ हजार ३ सय रुपैया बराबरको पिउने पानीको ब्यबस्थापन गर्नुभएको सप्लायर्सका सञ्चालक झुपलाल खड्काले जानकारी दिनुभयो ।

भागवत भाष्कर कमलनयन गौतमबाट त्रिसिदेश्वरी मन्दीरको दर्शन

भागवत भाष्कर कमल नयन गौतमले दाङको धार्मिक स्थल त्रिसिद्धेश्वरी मन्दीरको दर्शन गर्नुभएको छ । शनिबार बिहान तुलसीपुर स्थीत उक्त मन्दीरको दर्शन गर्नुभएको हो । उहाँले मन्दीर परिसरमा रहेका बिभिन्न देवीदेवताको दर्शन गर्नुभएको हो । मन्दीरमा दर्शन गर्नु पुग्नुभएका गौतमलाई पण्डीत कुलचन्द्र भट्टराई,पण्डीत प्रेमप्रसाद दाहाल र नारायण लम्सालले स्वागत गर्नुभएको थियो ।
माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन भएको महायज्ञको कथावाचन गर्नुभएका गौतमले रुचिपूर्वक त्रिसिद्धेश्वरी मन्दीरको बारेमा जानकारी लिनुभएको थियो । उहाँलाई मन्दीरका बारेमा त्रिसिदेश्वरी मन्दीरमा योगदान गर्दै ब्यबसायी उत्तमकुमार श्रेष्ठले बृस्तीत रुपमा जानकारी गराउनुभएको थियो । उहाका साथमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी,महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेत,सल्लाहकारद्धय चिरिन्जीवि रिजाल र बलदेव शर्मा,सुरेश हमाल,गोरख वली,प्रमोद सेनी लगायत रहनुभएको थियो ।
२०३२ सालमा स्थापना गरिएको हिन्दुधर्मालम्वीको आस्थाको त्रिसिद्धेश्वरी मन्दीर तुलसीपुरमा देवी, सरस्वती, गणेश, शिव,सनी,बिश्वकर्मा लगायतका कलात्मक मुर्तिहरु छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *