वैशाख ७

आज र भोलि झनै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको छ ।
केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाहरुमा अझै धेरै गर्मी छ । हिजो नेपालगञ्ज र दिपायलको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँहरूमा भने वर्षा पनि भइरहेको छ । हिजो कास्कीमा ५७ दशमलब ४ र सिन्धुपाल्चोकमा ६८ दशमलब ४ मिलीमिटर वर्षा भएको छ ।
यस्तै गोरखा, लमजुङ, सोलुखुम्बु, खोटाङ, धनकुटा, सङ्खुवासभामा मध्यम वर्षा भएको छ भने अरु धेरै ठाउँमा हल्का वर्षा भएको छ । हिजो चितवन, तनहुँ लगायतका ठाउँमा असिनासमेत परेको थियो ।
आज कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशका बाँकी हिमाली भूभागका थोरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा पानी पर्ने सम्भावना भए पनि धेरै ठाउँमा गर्मी हुने भएकाले प्रशस्त मात्रामा पानी पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न, बालबालिका, सुत्केरी, वृद्ध तथा बिरामीहरूको विशेष ख्याल राख्न र लामो लामो समयसम्म घाममा काम गर्नुपरेमा बीच बीचमा आराम गर्न महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म घर बाहिर ननिस्कनु राम्रो हुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *