चैत २६
प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा हुनु भएको छ |
काठमाण्डू जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पवनकुमार भट्टराईले ओली र लेखकलाई अनुसन्धान गर्न आवश्यक परेको बेलामा उपस्थित हुने सर्तसहित जिम्मा जमानीमा थुनामुक्त गरिएको जानकारी दिनुभयो ।
उहाँहरू गत सोमवार सर्वोच्च अदालतले जारी गरेको परमादेशबमोजिम हिरासतमुक्त हुनुभएको हो ।
वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा बनेको नयाँ सरकारले जेन जी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्यवन गर्ने निर्णय गरेपछि भदौ २३ मा प्रदर्शनकारीहरूमाथि घातक दमन भएको सन्दर्भमा ओली र लेखकलाई पक्राउ गरेको थियो।
पक्राउ परेपछि स्वास्थ्यको कारणले ओलीलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। म्याद थप गरेपछि अनुसन्धान अधिकारी र सरकारी वकिलले उहासग अस्पतालमै बयान लिएका थिए।
ओली र लेखक पक्षले छुट्टाछुट्टै दायर गरेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा सुनुवाइ गर्दै सोमवार सर्वोच्च अदालतले ओली र लेखकलाई काठमाण्डू जिल्ला अदालतले आइतवार, चैत २१ देखि लागु हुने गरी थप पाँच दिन हिरासतमा राख्न तेस्रो पटक दिएको अनुमतिअनुसारको समयावधिमा “अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थप अवधि उपरान्त” मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गर्न र थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन आदेश दिएको थियो।
यद्यपि अदालतले “फौजदारी कसुरको अनुसन्धान तहकिकातको सिलसिलामा अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानुनप्रतिकूल भन्न नमिल्ने” भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको थियो।

