चैत्र १२
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ।
शपथका लागि सबै तयारी पूरा भइसकेको छ र ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी गरेका छन्।
सदस्यहरूलाई औपचारिक वा सांस्कृतिक पहिचानको पोसाकमा तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।
काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।
सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ गराउनुहुने छ । कांग्रेसका समानुपातिकतर्फका सांसद केसीलाई राष्ट्रपतिले बुधबार शपथ गराउनु भएको थियो ।
प्रतिनिधिसभाको सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभा अधिवेशन कहिले बोलाउने भन्ने निर्णय आगामी सरकारले गर्नेछ । संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार ६१ सांसदले मातृभाषामा शपथ लिनेछन् ।
२४ भदौको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद् भवनमा तोडफोड र आगजनी भई क्षति भएकाले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा शपथ हुने उनले जानकारी दिए । निर्माणाधीन संसद् भवनकै एक हलमा प्रतिनिधिसभाको बैठक सञ्चालनको अस्थायी प्रबन्ध गरिएको छ ।
‘प्रतिनिधिसभाको सभाकक्ष निर्माण सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा बैठकहरू बस्ने र सदस्यको शपथ गर्ने गरी एक महिनादेखि हामीले तयारी गरिरहेका छौं । सिटहरूको व्यवस्थापन भइसकेको छ । रोस्ट्रम, सभामुख, महासचिव, सचिवालय बस्ने ठाउँको पनि व्यवस्थापन गरिएको छ । केही काम भने बाँकी छ, भौतिक पूर्वाधारका काम सकिए पनि प्राविधिक पक्षको काम बाँकी छ,’ गिरीले भने, ‘सुरक्षा व्यवस्थापनको काम सकिएको छ ।’

