फागुन २६
पछिल्लो समय देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै आम नागरिकलाई विशेष सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर पिएम २.५० को मात्रा निकै बढेको छ।
श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उहाले जानकारी दिनुभयो।
प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू उच्च जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ। ‘यसले सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वास सम्बन्धी गम्भीर रोग र क्यान्सर समेत गराउन सक्छ,’ प्रवक्ता डा. बुढाथोकीले भन्नुभयो।
बिहान र बेलुका बाहिर ननिस्कन सुझाव
प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ।
बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको छ। बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा वा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाएको छ।

