फागुण १५
बिबिसी वर्ल्ड सर्भिसले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ। बिहीबार आयोगले प्रेस काउन्सिललाई उक्त डकुमेन्ट्री हटाउन पत्र लेखेको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाका अनुसार बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री निर्वाचनको माहोल भाँड्ने किसिमको छ। ुनिर्वाचनको माहोल भाड्ने किसिमको डकुमेन्ट्री भएको हुँदा हटाउन पत्र काटेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बिबिसीले डकुमेन्ट्री बनाएर बिहीबार प्रकाशन गरेको थियो।
बिबिसीले सार्वजनिक गरेको डकुमेन्ट्रीमा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङले भदौ २३ गते कर्फ्यू लागेपछि बल प्रयोग गर्न आदेश माग्न नपर्ने निर्देशन दिएको दाबी गरेको छ। बिबिसीले यो डकुमेन्ट्री बिहीबार सार्वजनिक गरेको हो। उसले ४ हजार भन्दा बढी फोटोरभिडिओ मूल्यांकन गरी रिपोर्ट तयार पारेको दाबी गरेको छ।
बिबिसी मिडियाले नेपाल प्रहरीको टाइमलाइन रिपोर्ट पनि प्राप्त गरेको छ। बिबिसीका अनुसार ११.५८ बजे प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सवा १२ बजेतिर प्रदर्शनकारीहरूले पर्खाल भत्काउन खोजेका थिए। प्रदर्शनकारीहरू छत चढेको लगायतका विवरणहरू उल्लेख छन्।
भिड अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साढे १२ बजे कर्फ्यू आदेश जारी गरेको थियो। त्यसपछि किलो वान अर्थात, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले घुँडा मुनि रबरको बुलेट प्रयोग गर्न आदेश दिएको बिबिसीले जनाएको छ।
अश्रुग्यास र रबरको बुलेट प्रयोग गर्दा परिस्थिति नियन्त्रणमा नआएपछि फिल्डमा खटिएका प्रहरीले थप बल प्रयोगका लागि आदेश मागेको थियो।
प्रहरीको ुपिटर वानु कलसाइनबाट थप बल प्रयोगका लागि आदेश आवश्यक नरहने निर्देशन आएको बिबिसीले प्राप्त गरेको प्रहरीको टाइम लाइन रिपोर्टमा उल्लेख छ। पिटर वान कलसाइन नेपाल प्रहरीको आइजिपीले प्रयोग गर्छ। अर्थात् त्यो आदेश दिने व्यक्ति त्यतिबेला आइजिपी रहेका चन्द्रकुबेर खापुङ हुनुहुन्थ्यो भनि बिबिसीको रिपोर्टले सार्वजनिक गरेको छ । १२.४० कर्फ्यू लागि सकेको छ, आदेश माग गरिराख्नु नपर्ने, आवश्यक बल प्रयोग गर्ने,’ खापुङले भन्नुभएको थियो। बिबिसीले यस घटनामा आइजिपी खापुङले जिम्मेवारी लिन अस्वीकार गरेको पनि बताएको छ। उहाले कर्फ्यु आदेश तत्कालीन जिल्ला सुरक्षा समितिको निर्णय भएको र त्यसको कार्यान्वयन गर्दा प्रहरी महानिरीक्षकको थप आदेश नचाहिने बताउँदै आउनुभएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा १९ जनाको ज्यान गएको थियो। त्यसपछि भोलिपल्ट आन्दोलन थप चर्किएको थियो। जेनजी आन्दोलनको क्रममा ७६ जनाले ज्यान गुमाएका छन्। त्यसमध्ये तीन जना प्रहरीसहित ४५ जनालाई शहिद घोषणा गरेको छ। भदौ २४ गते आन्दोलन थप बल्झिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो।

