ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

८ वर्षमा दुर्घटनामा परि १९ हजारको मृत्यु, १ लाख ६८ हजार सवारी दुर्घटना

फाल्गुन १२

पछिल्ला आठ वर्षमा नेपालमा १ लाख ६८ हजारभन्दा बढी सवारी दुर्घटना हुँदा १९ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। दुर्घटनाका मुख्य कारणमा चालकको लापरबाही, सडकको दुरावस्था, सवारीसाधनको कमजोर जाँच र अस्वस्थ प्रतिस्पर्धा रहेका छन्। दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुझाव र नीति बने पनि कार्यान्वयनमा कमजोरी देखिएको छ।
सवारीचालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, सडकको दुरवस्था, लामो दूरीमा गुड्ने सवारीसाधनको राम्रो जाँच नगरिँदा र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेका छन् । प्रहरीका अनुसार ८ वर्षयता १ लाख ६८ हजार ६ सय २३ सवारी दुर्घटनामा १९ हजार २ सय ६२ जनाले ज्यान गुमाएका छन् । यी दुर्घटनामा ४६ हजार ४ सय ७५ जना गम्भीर र १ लाख ७९ हजार ३ सय ९९ जना सामान्य घाइते भए ।
यस आर्थिक वर्षको माघसम्म १९ हजार ३ सय ५ दुर्घटनामा १ हजार ५ सय ४५ को ज्यान गएको छ । ४ हजार ८ सय ७१ गम्भीर घाइते र २५ हजार ३ सय ५७ सामान्य घाइते भए । बढीजसो सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
‘तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेका छन्,’ उनी भन्छन्, ‘अर्कोतर्फ जति सडक बनेका छन्, सुरक्षामैत्री छैनन् । चालक र यात्रु दुवैले हतार गर्दा पनि दुर्घटना बढ्ने गरेको छ । हतारले गर्दा क्षमताभन्दा बढी भए पनि यात्रु चढ्न चाहन्छन् भने हतार गरेर चालकले तीव्र गतिमा सवारी चलाउँदा नियन्त्रण गुम्ने गरेका घटना छन् ।’
राति चल्ने सवारीसाधनमा दुई जना चालक राख्ने भनिए पनि अभ्यासमा पूर्ण रूपमा नआइसकेकाले पनि दुर्घटना कम हुन सकेको छैन । ‘सवारीसाधनको चेकजाँच गर्ने भेहिकल फिटनेस टेस्ट राम्रोसँग कार्यान्वयनमा आएको छैन । झापा, धनगढी वा बैतडी जाने गाडी छन् भने पहिला त्यसले भेहिकल फिटनेस टेस्ट गराएर जाने व्यवस्था हुनुपर्छ, यी कुरा कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ ।’
राजमार्गहरूमा सडक बत्ती नहुँदा पनि दुर्घटनाको जोखिम रहेको र घाइतेलाई तत्काल उद्धार गर्न समस्या हुने गरेको छ । ‘लामो तथा छोटो दूरीमा सवारीसाधन चलाउने चालकलाई दिइने शिक्षा र सचेतना पर्याप्त छैन,‘जुन अब अनिवार्य गर्न आवश्यक छ ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *