फागुन ११ गते
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस सोमबार त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ। दुर्घटनाको बेला सो बसमा ४६ जना यात्रुहरु रहेको र उद्धार कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो। सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार गरिरहेका छन् र मृतक तथा घाइतेहरुको सनाखत हुन सकेको छैन।
सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।
हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको छ । मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।

