माघ ७ गते
फागुण २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको निर्वाचन आयोगले बताएको छ।
६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् र सबै उमेर समूहका उम्मेदवार छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ ।
ठूला दलले नै दिएनन् महिला उम्मेदवारीलाई प्राथमिकता
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये मात्र ११ जना महिलाहरूलाई संसदीय याताका लागि उम्मेदवार बनाएको छ ।
एमालेले देशभर १२ जना महिलालाई चुनावी प्रतिष्पर्धाका लागि अवसर दिँदा नेकपाले ११ जना महिलालाई मात्रै दलका तर्फबाट उम्मेदवार बनाएको छ ।
प्राप्त सूचीअनुसार कांग्रेसले कोशी प्रदेशबाट झापा–२ मा सरिता प्रसाईं र झापा–५ मा मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ ।
मधेश प्रदेशबाट कांग्रेसकातर्फबाट महोत्तरी–२ बाट किरण यादव र सिरहा–४ बाट चन्द्रकला कुमारी यादवले टिकट पाउनुभएको छ । कांग्रेसले बागमती प्रदेशबाट सबैभन्दा बढी पाँच महिला नेतृलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशमा काठमाडौं– ८ र ९ बाट क्रमशः सपना राजभण्डारी र नानु बास्तोला उम्मेदवार बन्नुभएको छ ।
यस्तै मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, सिन्धुलीबाट सुशीला थिङले टिकट पाएका छन् । उपाध्याय निवर्तमान सहमहामन्त्री हुन भने थिङ विघटित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सचेतक हुनुभएको थियो ।
कांग्रेसले चितवन–२ बाट मीनाकुमारी खरेल, रूकुम पूर्व (लुम्बिनी प्रदेश) बाट कुसुमदेवी थापामगर र दैलेख–१ (कर्णाली)बाट बासना थापालाई टिकट दिएको छ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा विजयी एकमात्र महिला नेतृ सीता गुरूङलाई भने कांग्रेस यसपल्ट टिकटबाट वञ्चित गरेको छ । उहा निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनुहुन्छ ।
कांग्रेसमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट कुनै पनि महिला नेतृलाई उम्मेदवार बनाएको छैन ।
यस्तै एमालेले सुनसरी–३ मा भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा र उदयपुर–१ मा दुर्गा थापा स्वोतीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
एमालेबाट धनुषा–३ का लागि जुलीकुमारी महतो, बारा–३ का लागि ज्वालाकुमारी साह, पर्सा–२ का लागि रिमाकुमारी यादव र तनहुँ–१ का लागि भगवती न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ ।
एमालेबाटै बाग्लुङ–२ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा विष्ट, रुपन्देही–४ मा सुनिता थथेर र बर्दिया–२ मा विमला विकको उम्मेदवारी परेको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेकपामा पनि संसदीय निर्वाचनका लागि पुरूष उम्मेदवारहरूसँग प्रतिष्पर्धा गर्ने अवसरमात्र ११ जना नेतृले पाएका छन् ।
नेकपालो झापा–२ बाट धर्मशीला चापागाईं, संखुवासभाबाट सरिता खड्का थापा, सुनसरी–२ बाट रामकुमारी चौधरी र सप्तरी–४ बाट रुबी कर्णलाई मनोनयन दर्ता गर्न लगाएको छ ।
तथापि, सप्तरी–४ मै नेकपाका तर्फबाट तारा तिमिल्सिना (पुरूष उम्मेदवार)को पनि उम्मेदवारी दर्ता भएको बताइएको छ ।
यस्तै रौतहट–३ मा पुनम देवी, काठमाडौं–१ मा मेनका भण्डारी, काठमाडौं–५ मा कल्पना शर्मा र चितवन–३ मा रेणु दाहाल पनि नेकपाबाट उम्मेदवार बन्नुभएको छ । नेकपाले मनाङमा यशोदा सुवेदी गुरूङ, नवलपरासी (पश्चिम)– १ मा डा. सिन्धु जलेशा र कञ्चनपुर–३ मा बिना मगरलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ ।
विघटित संसद्मा प्रत्यक्षतर्फ विजयी नौमध्ये कम्तिमा पाँच महिला नेतृ आगामी संसद्मा नदेखिने विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन् ।उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् ।
गत निर्वाचनमा विभिन्न दलहरूबाट प्रत्यक्षतर्फ विजयी भएका नौ जनामा तीन जनाले यसपल्ट चुनाव लड्न अनिच्छा देखाएका थिए ।
दुई जना नेतृ भने फेरि निर्वाचन लड्ने चाहना राख्दा–राख्दै पनि टिकट पाउन असफल भएकी हुन् ।
प्रतिनिधिसभा निर्वाचन– २०७९ मा कांग्रेसबाट प्रत्यक्षतर्फ सीता गुरूङमात्रै र तत्कालीन नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा एक्लै निर्वाचित हुनुभएको थियो ।
गत निर्वाचनमा एमालेबाट भगवती चौधरी, ज्वाला साह, जुलीकुमारी महतो र विद्या भट्टराई प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो ।
उहाहरूमध्ये टिकटका लागि आकांक्षा नराख्नेमा भट्टराई मात्रै होईन । एमालेबाट चौधरी र महतोले टिकट पाउँदा साह भने उम्मेदवार बन्नबाट राकिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गत निर्वाचनमा प्रत्यक्षतर्फ सोविता गौतम र तोसिमा कार्की निर्वाचित हुनुभएको थियो । उहाहरू दुवैलाई रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवारमा दोहोर्याएको छ ।
यस्तै गत निर्वाचनमा पश्चिम नेपालबाट उदाएको दल नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ प्रत्यक्षमा निर्वाचित हुनुभएको थियो । यसपल्ट उहाको पार्टीको आन्तरिक किचलोका कारण उम्मेदवार बन्नुभएन ।
गत निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विभिन्न दलका २२५ जना महिला नेतृ उम्मेदवार थिए । तीमध्ये नौ जनामात्र निर्वाचित भएका थिए ।
उमेरका दृष्टिमा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार बढी छन् ।
निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ५८३ छ । यो समूहमा महिलाको संख्या ६७ र पुरुष उम्मेदवारको संख्या ५१५ रहेको छ ।
३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६१० जना उम्मेदवार रहेका छन् । यो समूहमा महिला उम्मेदवारको संख्या २३५ र पुरुष उम्मेदवारको संख्या १ हजार ३७५ जना रहेको छ ।
५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको कुल संख्या १ हजार ९० रहेको छ । यो उमेर समूहमा महिलाको संख्या ९० छ भने पुरुष उम्मेदवारको संख्या १ हजार रहेको छ ।
६५ वर्ष माथिका उम्मेदवारको संख्या २०१ जना रहेको छ । यो उमेर समूहमा महिला उम्मेदवारको संख्या ३ र पुरुष उम्मेदवारको संख्या १९८ रहेको छ ।
निर्वाचन आयोगका अनुसार ६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् ।

