पौष २४
राष्ट्रियसभाको रिक्त १८ पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन आयोगले बुधबार देशका सातवटै प्रदेश राजधानीबाट उम्मेदवारी मनोनयन गरेको थियो । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशबाट पाँच, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट छ, गण्डकी प्रदेशबाट छ, लुम्बिनी प्रदेशबाट आठ, कर्णाली प्रदेशबाट चार र सूदुरपश्चिम प्रदेशबाट चार गरी ४४ जनाको उम्मेदवारी दर्ता भएको हो ।
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले एकल उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस एमालेलगायतले भने मंगलबार गठबन्धन गर्दै कांग्रेस नौ, एमाले आठ र लोसपा÷जसपाले एक सिट लिने सहमति गरेका थिए । सहमतिनजिक पुगेको नेपाली कम्युनिष्ट पार्टी भने अन्तिममा समीकरणबाट बाहिरिएपछि उसले देशभर एकल उम्मेदवारी दर्ता गर्ने निर्णयमा पुगेको हो ।
लुम्बिनी प्रदेशबाट तीन पदका लागि आठजना
यसैबीच लुम्बिनी प्रदेशबाट तीन पदका लागि आठजनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस– नेकपा एमालेलगायत चार दलीय गठवन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुईजनाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा रिक्त अपांग तथा अल्पसंख्यक, महिला र अन्य क्लष्टर गरी तीन सदस्यका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य क्लष्टरतर्फ तीन दलका तीनजनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट रेसुंगा नगरपालिका–३ गुल्मीका ६९ वर्षीय चन्द्रबहादुर केसी, नेपाली कम्युनिष्ट पार्टीबाट बर्दघाट नगरपालिका–१४ नवलपरासी पश्चिमका ६६ वर्षीय वृहस्पति अधिकारी र राष्ट्रिय जनमोर्चाबाट मल्लरानी गाउँपालिका–२ प्युठानका ७१ वर्षीय बोमबहादुर खत्रीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यसैगरी अपांग÷अल्पसंख्यकतर्फ दुईवटा राजनीतिक दलका दुईजनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसबाट लमही नगरपालिका–३ दाङका ६८ वर्षीय बासुदेव घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट वैजनाथ गाउँपालिका–५ बाँकेका ४० वर्षीय सर्जन बिकले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै महिला क्लष्टरमा तीन राजनीतिक दलका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट मदाने गाउँपालिका–४ गुल्मीकी ४७ वर्षीया रामकुमारी झाँक्री, नेपाली कम्युनिष्ट पार्टीबाट बराङ्दी गाउँपालिका–१ पाल्पाकी ६० वर्षीया दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट प्यूठान नगरपालिका–८ प्युठानकी ५७ वर्षीया पद्मा पण्डितले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
आठैजनालाई उम्मेदवारी दर्ताको निस्सा प्रमुख निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले दिनुभएको थियो । उम्मेदवारी दर्ताअघि दलहरुले पार्टी कार्यालयबाट ¥याली निकालेर निर्वाचन कार्यालय पुगेका थिए । राष्ट्रियसभा कुल १९ रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । ती मध्ये १८ सिटका लागि प्रतिस्पर्धा हुँदैछ भने एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुहुनेछ । निर्वाचन हुने १८ मध्ये लुम्बिनीमा तीन पदका लागि प्रतिस्पर्धा हुँदैछ । तीनजना सदस्य चुन्न लुम्बिनीका ८७ प्रदेशसभा सदस्य र स्थानीयतहका दुई सय १७ प्रमुख उपप्रमुखहरुले मतदान गर्नेछन् ।
बुधबार घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले निर्वाचित भएर राष्ट्रियसभाबाट गुणस्तरीय कानुन निर्माणमा भूमिका खेल्ने बताएका थिए ।
कांग्रेसका थापा निर्विरोध
यसैबीच राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । अन्यतर्फ नेकपा उम्मेदवार नै उम्मेदवारी दिन आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको हो । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

