पुजा गुप्ता ,मंसिर २९

पुस ४ गतेदेखि तुलसीपुरमा सञ्चालन हुन लागेको ‘प्रथम तुलसीपुर महोत्सव’ मा कृषिजन्य बस्तु प्रदर्शनीका लागि प्राथमिकता दिईने भएको छ । किसानले उत्पादन गरेको कृषि बस्तुको लागि ५० वटा स्टल निःशुल्क पाउने भएका छन् ।
विशेषगरी तुलसीपुर उपमहानगरपालिकाभित्रका कृषिजन्य उपज र हस्तकलाका सामग्रीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । महासंघका अनुसार महोत्सव पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब साढे चार सय स्टल रहनेछन् । महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलुु तथा साना उद्योग महासंघ तुलसीपुरले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी करिब ८० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिएको हो ।
संयोजक केसीले हालसम्म एक सयभन्दा बढी स्टलहरु स्थानीय व्यवसायीले बुकिङ गरिसकेको जानकारी दिनुभयो । यसैगरी महोत्सवमा नेपालमै पहिलो पटक ‘युवा उद्यम नयाँ प्रवद्र्धन छनोट प्रतियोगिता’ आयोजना गरिने छ । युवाहरूलाई आफ्नो व्यावसायिक ज्ञान र सीप प्रतिस्पर्धामार्फत प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्धेश्य रहेको आयोजकको भनाइ छ । महोत्सव व्यवस्थापनका लागि दुई सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिअन्तर्गत २७ वटा उपसमिति बनाई कार्यविभाजन गरिएको छ । मूल्यांकन उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष सचिन पौडेल, सांस्कृतिक उपसमितिमा टीकाजंग वली, सचिवालय व्यवस्थापन उपसमितिमा महासचिव भद्रबहादुर वली र प्रचारप्रसार संयोजकमा तिलकराज योगी रहनुभएको छ ।
महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले कृषिजन्य वस्तु बिक्री वितरण र प्रवद्र्धनका लागि किसानलाई स्टल निःशुल्क उपलब्ध गराउने भएको हो । महोत्सवमा कृषिजन्य वस्तुको बिक्री वितरणलाई प्राथमिकता दिइने महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताउनुभयो ।
साढे चार सय स्टलमध्ये ५० वटा स्टल स्थानीय कृषकले उत्पादन गरेका सामग्री प्रवद्र्धनका लागि निःशुल्क पाउने भएका छन् । यस्तै स्टलमार्फत बढी वस्तु बिक्री–वितरण गर्ने कृषक समूहलाई पुरस्कार प्रदान गरिने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । स्थानीय उत्पादन प्रवद्र्धनका लागि विभिन्न संघ–संस्थासँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सवमा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनी गरिनेछ ।
पत्रकार सम्मेलनको सहजीकरण महासचिव भद्रबहादुर वलीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *