मंसिर १२
नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। देशभरका जिल्लामा उम्मेदवारी संख्या दोब्बरभन्दा बढी परेका कारण सहमतिको सम्भावना न्यून रहँदै प्रतिस्पर्धाबाटै प्रतिनिधि चयन प्रक्रिया अघि बढेको छ।
११ औं महाधिवेशन प्रतिनिधि छनोटमा महिला, युवा र दलितको सहभागिता अनिवार्य गरिएको छ भने कुल प्रतिनिधि संख्या २ हजार २ सय पुग्ने एमाले प्रचार विभागले जनाएको छ।
आइतबारसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।
भूगोलबाट १ हजार १ सय ३५ चयन गर्नुपर्ने भएकाले सबै जिल्लामा संयन्त्र परिचालन गरेका छन् । अरू केन्द्रीय कमिटी, विभाग, विशेष समितिबाट चुनिनेछन् । उत्साहका साथ प्रतिनिधि चयन भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
२७–२९ मंसिरमा काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशनअघि पूर्वका जिल्लाहरूमा प्रतिनिधि छनोट प्रक्रियामा ठूलो रस्साकसी देखिएको छ । कोशीका १४ जिल्लाबाट खुला १ सय १७, महिला ६४, ४० वर्षमुनिका युवा २९ र १६ जना दलित गरी २ सय २६ प्रतिनिधि छानिँदै छन् ।
यी पदका लागि दोब्बरभन्दा बढी उम्मेदवारी परेको छ । ओली इतर समूहको बलियो पकड रहेको मोरङमा प्रतिनिधि संख्याको तीन गुणाभन्दा बढी उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा निकै चर्किएको छ ।

