कात्तिक २० गते
आन्तरिक राजस्व विभागले प्यान कार्ड सेवा अब स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ। करदाता सेवा कार्यालयहरू खारेज भएपछि प्यान कार्ड सेवा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि उपलब्ध हुनेछ।
कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था विभागले स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरू खारेज भएका छन् ।
‘स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ’ विभागले भनेको छ ।
त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
विभागअन्तर्गतका कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको विभागले जनाएको छ ।

