१५ कात्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँगको एकताबाट पुन नेतृत्वमै निरन्तर रहने बाटो रोजेपछि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विमति राख्नुभएको छ । माधव नेपालसँगको एकतापछि उहाले माओवादी पार्टीलाई नै पुनर्गठन गर्ने बताउनुभयो ।
एकताबाट अध्यक्ष दाहालले माओवाद र माओवादी पार्टीको औपचारिक विसर्जन गर्ने भएकाले आफू पुनर्गठनको बाटोमा लाग्नुपर्ने अवस्था आएको उहाले बताउनुभयो । ‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ । म पार्टी पुनर्गठन गर्छु,’ उहाले अभन्नुभयो, ‘मैले यो कुरा भनिदिएको छु । पार्टी सुदृढ गरौंला भनेको छु ।’
पार्टीको बैठक छोडेर हिंडेका शर्माले शनिबार साँझ दाहालले पार्टीलाई विसर्जन बाटोमा लगेको आरोप लगाउनुभयो । ‘आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्नु एकता होइन,’ उहाले भन्नुभयो, ‘यो एकता जेनजी आन्दोलनको भावना विपरीतको एकता हो । माओवादीले यो एकतालाई बोक्न सक्दैनौं ।’
माओवाद र माओ विचार छोडेर त्यसबाट हिँडे विघटन र विसर्जन हुने उहाको भनाइ छ । ‘महाधिवेशनमा प्रतिस्पर्धा छल्नका लागि प्रचण्डले एकताको कुरा गरिरहनु भएको हो,’ शर्माले भन्नुभयो ।
शर्माले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा लिखित धारणा पेश गर्दै एकतामा विमति राख्नुभएको थियो । पार्टीको महाधिवेशन छल्न र बैचारिक बहसलाई छल्न प्रचण्डले एकताको विषय अगाडि बढाएको भनेर उहाले प्रचण्डकै अगाडि भन्नुभएको थियो।
पहिले नेतृत्व हस्तान्तरण हुनुपर्ने र त्यसपछि समग्र कम्युनिस्ट आन्दोलन एकतामा जानुपर्ने उहाको प्रस्ताव छ । तर, उहाको यो भनाइबाट अध्यक्ष प्रचण्ड रुष्ट बन्नुभएको छ ।
एकीकृत समाजवादीसँगको एकतामा जनार्दनको विमति,पार्टीमा राखे ५ बुँदे फरक मत

