असोज २७ गते
इजरायली सेना आईडीएफका एक अधिकारीले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका छन् ।
इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे बताएका हुन ।
ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताउनुभयो । राजदूत पण्डितका अनुसार ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’
अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइनुभएको थियो । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिनुभएको थियो । तर त्यसपछि उहाको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किनुभएको थियो । त्यसपछि अहिले उहाहरु अमेरिकामा हुनुुहुन्छ । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा प्रगति भने देखिएन ।

