ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

संगठित अपराधसहित तीन कसुरमा हुनेछ पूर्वसभामुख महरामाथि अनुसन्धान

असोज २६ गते

हिजो पुन पक्राउ पर्नुभएका नेकपा माओबादी केन्द्रका उपाध्यक्ष एवम पूर्व सभामुख कृष्ण बहादुर महरामाथि भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने छ । सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरेको हो ।
रोल्पा घर भएका ६८ वर्षीय महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ ।
सीआईबीका निर्देशक तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो ।
अब उहामाथि मुख्यगरी तीन वटा कसुरमा अनुसन्धान हुनेछ । जसमा भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ बताउँनुभयो ।
महरा १० पुस २०७९ मा दुबईबाट हवाईमार्ग हुँदै भेपको स्वरूपमा काठमाडौं भित्रिएर गायब भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ । फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक ली हानसोङले २ वटा सुटकेस ल्याएका थिए ।
उक्त सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप थिए । दुई वटा सुटकेस शंकास्पद देखिएपछि जाँच गर्दा भेप देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।
भेपको स्वरूपमा सुन भित्रिएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।
२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । तर सुन भने भेटिएको थिएन । यही सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भन्दै अहिले महरा पक्राउ पनुभएको हो ।
यही घटनामा यसअघि महरालाई सीआईबीले नै ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरेको थियो । त्यतिबेला भने उनी पक्राउ परेको ५ दिनमै ९ चैतमा छुटनुभएको थियो ।
महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अदालतले उपचार गराउन आदेश दिएको थियो । त्यसपछि सरकारी वकिलसँगको छलफलपछि महरा हाजिरी जमानीमा छुटेका थिए । त्यतिबेला भने महराविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता भएन ।
महरामाथिको अनुसन्धान फाइल सीआईबीमै रोकिएको थियो । अहिले सोही प्रकरणमा उहा हाजिरी जमानीमा छुटेको दुई वर्षपछि फेरि महरा पक्राउ पनुभएको छ । एउटै मुद्दामा दोस्रो पटक किन पक्राउ परे भन्ने प्रश्नमा सीआईबीका अधिकारी भने थप केही प्रमाण देखिएको दाबी गर्छन् ।
यसअघि सुन तस्करी जाँचबुझ आयोगले समेत पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएको र केही विषयहरू थप खुलेको दाबी सीआईबीको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोग भने महरालाई मुद्दा चलाउनुपर्ने भनेर सिफारिस नै गरेको थियो । १ चैत २०८० आचार्य नेतृत्वको आयोगले प्रतिवेदन बुझाएपछि महरा ५ चैतमा पक्राउ पनुभएको थियो । एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका महराको मुद्दा अब कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ ।
भन्सारले बारमद गरेको भेप लिलामी गरिदिन भन्दै पूर्वसभामुख महराले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई फोन गर्नुभएको थियो । लिलामीबारे छोरा राहुल कुरा गर्न आउने भन्दै ताकेता गरेको भन्सारका कर्मचारीहरूले प्रहरीसमक्ष बताएका थिए ।
त्यसपछि शंका लागेर हेर्दा भेप साटफेर भइसकेको खुलेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । राजस्वबाट यो सुन तस्करीको अनुसन्धान सीआईबीलाई दिइएको थियो । सीआईबीको अनुसन्धानमा प्रश्न उठेपछि डिल्लीराज आचार्य नेतृत्वमा आयोग बनाएर भेप र ६० किलो सुनको छानबिन गर्न कार्यादेश दिइएको थियो । त्यसपछि आयोगले कृष्णबहादुर महरा र केही चिनियाँहरूको सुन तस्करीमा लगानी गरेको दाबी गरेको थियो ।
आयोगले चिनियाँ नागरिक दावाजिन वाङले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङको नाममा रहेको डस्टर गाडी सुन तस्करीमा प्रयोग भएको उल्लेख गरेको थियो । पछि उनै गुरुङले महरालाई दिएको आयोगले उल्लेख गरेको थियो ।
यही भेपको सुन तस्करी प्रकरणका उनका छोरा राहुल पनि जोडिनुभएको थियो । १३ भदौ २०८० मा सीआईबीले राहुललाई पक्राउ गरेको थियो ।
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटकपटक टेलिफोन सम्पर्क भएको देखिएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
भेप प्रकरणको पहिलो मुद्दामा राहुल महरा सुन किन्ने समूहमा रहेको खुलेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *