संगठित अपराधसहित तीन कसुरमा हुनेछ पूर्वसभामुख महरामाथि अनुसन्धान

By Sushil Basnet २७ आश्विन २०८२, सोमबार ०१:१४ २७ आश्विन २०८२, सोमबार ०१:१४ २७ आश्विन २०८२, सोमबार ०१:१४

असोज २६ गते

हिजो पुन पक्राउ पर्नुभएका नेकपा माओबादी केन्द्रका उपाध्यक्ष एवम पूर्व सभामुख कृष्ण बहादुर महरामाथि भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने छ । सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरेको हो ।
रोल्पा घर भएका ६८ वर्षीय महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ ।
सीआईबीका निर्देशक तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो ।
अब उहामाथि मुख्यगरी तीन वटा कसुरमा अनुसन्धान हुनेछ । जसमा भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ बताउँनुभयो ।
महरा १० पुस २०७९ मा दुबईबाट हवाईमार्ग हुँदै भेपको स्वरूपमा काठमाडौं भित्रिएर गायब भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ । फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक ली हानसोङले २ वटा सुटकेस ल्याएका थिए ।
उक्त सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप थिए । दुई वटा सुटकेस शंकास्पद देखिएपछि जाँच गर्दा भेप देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।
भेपको स्वरूपमा सुन भित्रिएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।
२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । तर सुन भने भेटिएको थिएन । यही सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भन्दै अहिले महरा पक्राउ पनुभएको हो ।
यही घटनामा यसअघि महरालाई सीआईबीले नै ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरेको थियो । त्यतिबेला भने उनी पक्राउ परेको ५ दिनमै ९ चैतमा छुटनुभएको थियो ।
महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अदालतले उपचार गराउन आदेश दिएको थियो । त्यसपछि सरकारी वकिलसँगको छलफलपछि महरा हाजिरी जमानीमा छुटेका थिए । त्यतिबेला भने महराविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता भएन ।
महरामाथिको अनुसन्धान फाइल सीआईबीमै रोकिएको थियो । अहिले सोही प्रकरणमा उहा हाजिरी जमानीमा छुटेको दुई वर्षपछि फेरि महरा पक्राउ पनुभएको छ । एउटै मुद्दामा दोस्रो पटक किन पक्राउ परे भन्ने प्रश्नमा सीआईबीका अधिकारी भने थप केही प्रमाण देखिएको दाबी गर्छन् ।
यसअघि सुन तस्करी जाँचबुझ आयोगले समेत पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएको र केही विषयहरू थप खुलेको दाबी सीआईबीको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोग भने महरालाई मुद्दा चलाउनुपर्ने भनेर सिफारिस नै गरेको थियो । १ चैत २०८० आचार्य नेतृत्वको आयोगले प्रतिवेदन बुझाएपछि महरा ५ चैतमा पक्राउ पनुभएको थियो । एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका महराको मुद्दा अब कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ ।
भन्सारले बारमद गरेको भेप लिलामी गरिदिन भन्दै पूर्वसभामुख महराले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई फोन गर्नुभएको थियो । लिलामीबारे छोरा राहुल कुरा गर्न आउने भन्दै ताकेता गरेको भन्सारका कर्मचारीहरूले प्रहरीसमक्ष बताएका थिए ।
त्यसपछि शंका लागेर हेर्दा भेप साटफेर भइसकेको खुलेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । राजस्वबाट यो सुन तस्करीको अनुसन्धान सीआईबीलाई दिइएको थियो । सीआईबीको अनुसन्धानमा प्रश्न उठेपछि डिल्लीराज आचार्य नेतृत्वमा आयोग बनाएर भेप र ६० किलो सुनको छानबिन गर्न कार्यादेश दिइएको थियो । त्यसपछि आयोगले कृष्णबहादुर महरा र केही चिनियाँहरूको सुन तस्करीमा लगानी गरेको दाबी गरेको थियो ।
आयोगले चिनियाँ नागरिक दावाजिन वाङले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङको नाममा रहेको डस्टर गाडी सुन तस्करीमा प्रयोग भएको उल्लेख गरेको थियो । पछि उनै गुरुङले महरालाई दिएको आयोगले उल्लेख गरेको थियो ।
यही भेपको सुन तस्करी प्रकरणका उनका छोरा राहुल पनि जोडिनुभएको थियो । १३ भदौ २०८० मा सीआईबीले राहुललाई पक्राउ गरेको थियो ।
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटकपटक टेलिफोन सम्पर्क भएको देखिएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
भेप प्रकरणको पहिलो मुद्दामा राहुल महरा सुन किन्ने समूहमा रहेको खुलेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *