भदौ २८ गते
६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गगरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्री कार्कीको नियुक्तिपत्रमा मुलुकमा उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्दै ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरि अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो र यो प्रक्रिया संविधानको धारा ६१ अनुसार गरिएको छ।
‘मुलुकमा उत्पन्न विषम एवं असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा एवं आकांक्षाअनुसार राजनीतिक दल एवं सरोकारवालाहरूसँगको परामर्श समेतका आधारमा’ राष्ट्रपतिको नियुक्तिपत्रमा भनिएको छ, ‘राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिका आधारमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको‘।।’
शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । व्यवहोराअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको उल्लेख छ।
शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री मध्येका डा.बाबुराम भटटराई मात्र उपस्थीत हुनुभएको थियो ।
यसैबिच नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ ।
‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शीता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ संयोजक हम्डीले उल्लेख गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल, र नयाँ पुस्ताका युवा नेताहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ । साथै, परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रधानमन्त्री कार्कीलाई ‘देशको संवेदनशील अवस्थामा यो महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं,’ भन्दै शुभेच्छा व्यक्त गरिएको छ ।
संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ ।

