भदौ १
हिजो श्रीकृष्ण जन्माअष्टमी अर्थात अष्टिम्की पर्व मनाएका थारु समुदायका महिलाहरुले आज आईतबार बिहान बलिरहेका दियो, ज्यामिरे, फूल नजिकै खोलामा गई बगाउदैछन् । यसदिनलाई थारु भाषामा फह्रार भन्नेगरिन्छ । फह्रारको नुहाई धुवाइ गरी आ–आफ्नो घरमा जान्छन् । घरमा आइसकेपछि पाँचदेखि सात थरिको तरकारी, अन्य मिठामिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन् । यसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । त्यही अग्रासन विवाहित महिलाहरुले आ–आफ्नो दाजुभाइहरुलाई अग्रासन दिन जाने चलन रहेको छ।
श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको संस्कृतिविद् अशोक थारुको भनाइ छ ।
दुईदिनसम्म उल्लासमय बातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभरि केही पनि नखाई ब्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी भित्ते चित्र कोरेर धुमधामसँग टीका, फलफूल अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गरिन्छ । अष्टिमकीको पहिलोदिन अर्थात् ब्रत बसेका दिन बिहानै महटावाको घरको बैठक कोठाको उत्तरपट्टिको भागमा लिपपोत गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेषरुपमा बनाइन्छ ।
त्यसैगरी श्री कृष्णको दायाँ सूर्य र बायाँ भागमा चन्द्रमाको चित्र कोरिन्छ । यसैगरी दोस्रो लाइनमा सात भाइ कौरवको चित्र कोरिन्छ । त्यस्तै तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगटा, बाघ, हात्ती, मयुर, सर्प, गाईलगायत विभिन्न चरा, चुरिंगी र जनावरको चित्र बनाइन्छ । यसरी सबै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् । विभिन्न किसिमको रंगीचंगी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एकैसमयमा गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रगीचंगी फूल लिएर महटावाको घरमा गई पूजा गर्ने गरेको थारु संस्कृतिका जानकार चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँदै आइरहेका छन् ।

