बैशाख ८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
यसको पेसी सोमबारका लागि राखिएको छ । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशविरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा ‘थुनुवा दफा ७३’ निवेदन दायर भएको थियो । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
धवलशमशेरलाई हाजिर जमानीमा रिहा
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा हुनुभएको छ । उहालाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा उनी चैत १५ मा राति पक्राउ पर्नुभएको थियो । क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको एसएसपी अधिकारीले बताउनुभयो । धवल पत्नीले उहालाई जिम्मा लिनुभएको छ ।

