१५ चैत, काठमाडौं
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो ।
प्रदर्शनमा घाइते भएका उहालाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उहाको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा।सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेको अबस्थामा ल्याएको थियो ।
‘४.३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो ।
राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते
राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् ।
प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते हुनुभएको छ । त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते हुनुभएको छ ।
राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।
जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान
काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइनुभयो ।
‘साढे २ बजेतिर भित्र काम गरिरहेका थियौँ,’ यादवले भन्नुभयो, अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’
आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।
कोटेश्वर भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा
भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।
दुर्गा प्रसाईंलाई कानुनी दायरामा ल्याइन्छ , गृह मन्त्रालय
गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहले प्रसाईंलाई कारबाही दायरामा ल्याइने बताएको हो।
राजसंस्था पुनर्स्थापनालगायत मागसहित प्रसाईंको नेतृत्वमा शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु भएको छ भने व्यक्तिका घर, सञ्चार गृह तथा सरकारी र निजी सवारी साधनमा आगजनी भएका छन्।
प्रसाईंले प्रदर्शन नेतृत्व गरेको र गाडी हुइँक्याएर प्रहरीको घेरा तोड्दै प्रहरीलाई मार्न खोजेको गृहको आरोप छ।
गृह मन्त्रालयका सहसचिव छविलाल रिजालले प्रसाईंलाई कानुनी दायरामा ल्याइने बताएका हुन्।
तीनकुनेको प्रदर्शनमा १५ सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ। साथै प्रदर्शनमा १० देखि १२ हजार मानिस आएको आकलन गृहको छ।

