फाल्गुन २६
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आईतबार राजधानी काठमाण्डौमा गरेको स्वागत र प्रर्दशन प्रति बिभिन्न राजनीतिक दल र बिश्लेषकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रमुख राजनीतिक दलका शिर्ष तहका नेताले पूर्वराजा शाहको गतिबिधि प्रति आक्रोस ब्यब्त गरेका छन् भने विश्लेषकहरुले भने सरकारलाई सुशासन र न्यायपूर्ण सेवा प्रभावकारी बनाउन सचेत गराएका छन् । विभिन्न गुटमा विभाजित राजावादी दल, संस्था र व्यक्तिको संयुक्त आयोजनामा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन भएको छ । पोखराबाट समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं ओर्लेका शाहको स्वागतमा राजावादीले प्रदर्शन गरेका हुन् । विमानस्थलबाट बाहिरिएपछि शाह गाडीबाट समर्थकलाई अभिवादन गर्दै निर्मल निवास पुगेका थिए ।
पूर्वराजा शाहको गतिविधि र राजावादीको प्रदर्शनप्रति राजनीतिक दलका नेताहरू भने आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । आपसमा आरोप प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरू शाहको बढ्दो सक्रियतालाई लिएर एक ठाउँमा आएका मात्रै छैनन्, एउटै स्वरमा चेतावनीसमेत दिइरहेका छन् ।
आइतबार सुदूरपश्चिमको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ शाहलाई चेतावनी दिनुभएको छ । ‘अराजकताको बाटो हिँडेर कसैले केही हत्याइहाल्छु, भन्ने सपना देखेको छ भने त्यस्तो सपना नदेख्दा राम्रो,’ ओलीले भन्नुभयो, ‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने, नारायणहिटीमा छिराउने भन्ने, के भन्या त्यो कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे मानिदिनु परेन ।
प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजावादीको गतिविधिलाई संकेत गर्दै पार्टीको अभियान रोकिनुपरेको बताउनुभएको छ । ‘अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,’ दाहालले भन्नुभयो ।
सुर्खेतमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केहीले भ्रम फैलाइरहेको र भ्रममा राजा हौसिन आवश्यक नभएको बताउनुभयो ।
पेसागत संघसंस्थाका नेता र विश्लेषक राजावादीको अभियानले गणतन्त्रवादी नेतालाई सचेत बनाएको र सच्चिएर जानुपर्ने पाठ दिएको बताउँछन् । सरकारको अस्थिरता, सुशासन र सेवा प्रवाहका मुद्दामा राजनीतिक दल गम्भीर नबन्दा राजावादी हौसिएको पूर्वप्रमुख निर्वाचन आयुक्त तथा विश्लेषक भोजराज पोखरेलले टिप्पणी गर्नुभयो । ‘गल्ती नसच्चाउने र दोहोर्याउँदै जाने, सुशासन र सार्वजनिक सेवालाई बेवास्ता गर्दै जाने हो भने नेताले धेरै अप्ठ्यारो अवस्था सामना गर्नुपर्ने हुन्छ’ पोखरेलले भन्नुभयो, ‘सरकारले सुशासन र न्यायपूर्ण सेवालाई प्रभावकारी बनाउनुपर्छ ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे गणतन्त्रमाथि संकट आएको नभई पूर्वराजा शाह कसैको उक्साहटमा हौसिएको बताउँउनुहुन्छ ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई सरकारले सुशासन कायम गर्न नसक्दा विभिन्न रूपमा नागरिकको असन्तुष्टि प्रकट भइरहेको बताउँउनुभयो । ‘प्रमुख राजनीतिक दलले सुशासनलाई बेवास्ता गर्दा नागरिकको असन्तुष्टि कहिले बालेन भएर प्रस्फुटित भएको छ त कहिले गोपी हमाल र हर्क साम्पाङ भएर प्रस्फुटित भएको छ’ उहाले भन्नुभयो, ‘अहिलेको असन्तुष्टि ज्ञानेन्द्र शाह भएर प्रस्फुटित भएको मात्रै हो, तर त्यो भन्दैमा संविधान र कानुनबमोजिम राजतन्त्र स्थापना हुने कुनै सम्भावना छैन ।’आइतबारको प्रदर्शनले छरिएका राजावादी दल र हिन्दुवादी संघरसंगठन एकत्रित हुन खोजिरहेको आभास दिएको विश्लेषक तुलानारायण साहले बताउनुभयो ।

