ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

फागुन २३ गते
आज ८ मार्च , प्रत्येक वर्ष आजको दिनमा संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ ।
महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।
लैंगिक समानता र महिलाका अधिकारको प्रवर्द्धन, महिलाहरूको उपलब्धिलाई सम्मान गर्ने, महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने र समाजमा रहेको लैंगिक भेदभाव हटाउने यस दिवसको मुख्य उद्देश्यहरू हुन् ।
सन् १९०८ मा अमेरिका हुँदै १९१० मा जर्मनीकी समाजवादी नेता क्लारा जेट्किनले अन्तर्राष्ट्रिय स्तरमा महिला दिवस मनाउने प्रस्ताव राख्नुभएको थियो । त्यसपछि सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, र स्विट्जरल्यान्डमा पहिलोपटक औपचारिक रूपमा महिला दिवस मनाइएको इतिहास छ ।
संयुक्त राष्ट्रसंघले भने सन् १९७५ मा यसलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मान्यता दिएको थियो। र, अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा मनाइएको ऐतिहासिक पृष्ठभूमि छ।
यसको सुरुवात महिलाहरूको श्रमिक आन्दोलनसँग सम्बन्धित छ । विशेषतस् पहिलो विश्वयुद्धका दौरान रुसका महिलाहरूले ‘रोटी र शान्ति’ माग्दै हड्ताल गरेका थिए। जुलियन क्यालेन्डरअनुसार २३ फेब्रुअरी, १९१७ को दिन थियो त्यो । पछि ग्रेगोरियन पात्रोअनुसार यो मिति मार्च ८ मा पर्‍यो । त्यसैले मार्च ८ लाई हरेक वर्ष अन्तर्राष्ट्रिय महिला मनाइने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस को नारा ‘कारबाहीलाई तीव्रता दिऔं’ भन्ने रहेको छ।
यो नाराले लैंगिक समानताको दिशामा प्रगति गर्न थप सक्रिय कदम चाल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । विश्व आर्थिक मञ्चका अनुसार, वर्तमान प्रगतिका दरमा पूर्णलैंगिक समानता हासिल गर्न सन् २१५८ सम्म लाग्न सक्छ, जुन लगभग पाँच पुस्ताको समयावधि हो।
त्यसैले, यस वर्षको थिमले समाजका सबै तहमा लैंगिक समानता प्राप्त गर्नका लागि कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल र नेपाली महिलाका लागि एउटा अवसरका रुपमा लिन सकिन्छ । यस अवसरमा नेपालका महिलाहरूका लागि कार्यस्थलमा सुरक्षित वातावरण, समान ज्याला र नेतृत्वमा सहभागी गराउने कानुनी व्यवस्था कडाइका साथ लागू गर्न प्रेरित गर्ने कदम अगाडि बढाउन सकिन्छ ।
यस अवसरमा घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह, तथा यौनजन्य हिंसा रोक्न प्रभावकारी कार्यान्वयनप्रति सचेतना गर्दै कार्यक्रमहरू तर्जुमा गर्न सकिन्छ । त्यसैगरी महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न पनि उत्ति नै आवश्यक छ ।
विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई साना तथा मध्यम व्यवसाय सञ्चालन गर्न सहुलियत ऋण, तालिम बजारको पहुँच उपलब्ध गराउने किसिमका अवसरको व्यवस्था गर्न सके यस दिवसको अर्थ लाग्ने थियो।
हुनत स्वास्थ्य र शिक्षाका लागि कुनै विशेष अवसर कुर्नु पर्दैन । मातृ मृत्युदर १५१ रहेको हाम्रो वर्तमान अवस्थालाई हेर्दा हाल विद्यमान गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क स्वास्थ्य सेवा तथा मातृ मृत्युदर न्यूनिकरणका लागि कार्यक्रमहरूको पहुँच बढाउन विशेष पहल अगाडि सार्नुपर्ने देखिन्छ।
त्यस्तै बालविवाहको अन्त्य, प्राविधिक तथा उच्च शिक्षामा छात्रवृत्ति, तथा सीपमुलक अध्ययनमा प्रोत्साहन गर्न र यसका लागि सचेतना बढाउन आवश्यक हुन्छ ।
नेपालले नीति, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र नेतृत्वमा महिलाहरूको सहभागिता बढाएर अन्तर्राष्ट्रिय महिला दिवसलाई मात्र नभई महिला समानताको लक्ष्यलाई वास्तविक कार्यान्वयनमा ल्याउन सक्छ। सरकार, निजी क्षेत्र, गैरसरकारी संस्थाहरू र नागरिक समाजले मिलेर तीव्र कार्य गर्न आवश्यक छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *