माघ ३
इसराइल र हमासबीच गजामा युद्धविराम गर्ने सहमति भएको छ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इसराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बुधबार पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिनुभएको हो ।
युद्धविरामको सम्झौता आइतबारदेखि कार्यान्वयनमा जाने पनि प्रधानमन्त्री शेख मोहम्मदले बताएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।
उहाले वार्ताकारहरू सम्झौता लागु गर्नका लागि इसराइल र हमासका प्रतिनिधिसँग बाँकी प्रक्रियामा काम गरिरहेको बताउनुभएको छ ।
यो सँगै गजामा १५ महिनादेखि चलेको रक्तपात अन्त्य भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौताले गजामा भइरहेको लडाईंलाई रोक्ने बताउनुभएको छ । प्यालेस्टिनी नागरिकहरूलाई अत्यावश्यक मानवीय सहयोग बढाउनेछ र १५ महिनाभन्दा बढी समयदेखि बन्धकमा रहेकाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउनेछ, राष्ट्रपति बाइडेनले बुधबार वासिङ्टनमा भन्नुभएको थियो ।
अब यो सम्झौता इसराइली पक्षबाट कार्यान्वयन हुनका लागि त्यहाँको मन्त्रिपरिषदले पारित गर्नुपर्नेछ। त्यसका लागि इसराइली पक्षसँग मध्यस्तकर्ताहरूले थप छलफल गरिरहेको भनेर समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले लेखेको छ।
गजामा अझै एक सय जना विभिन्न देशका नागरिकहरू हमासको बन्धकमा रहेको बताइएको छ। इसराइल र हमासबीच पहिलो युद्धविराम सम्झौताको अवधि ६ हप्ताको हुनेछ।
हमासले ४२ दिनमा यसरी रिहा गर्ने
युद्धविरामको मध्यस्थ गरिरहेको कतारले सोमबार दुवै पक्षलाई सम्झौताको मस्यौदा पठाएको थियो।
मध्यरातमा भएको ब्रेकथ्रुमा हमास, इसराइल, अमेरिकी राष्ट्रपति जो बाइडेन र जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्न लागेका डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू पनि थिए । एपीले उक्त सम्झौतामा भएका महत्त्वपूर्ण बुँदाहरू सार्वजनिक गरेको छ। सम्झौताअनुसार युद्धविराम सुरूमा ४२ दिनको हुनेछ। त्यसअवधिमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ।
युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।
त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ।
पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ। यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ।
पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ।
त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्।
४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ।
हमासको बन्धकमा नेपालका विपीन जोशी
कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशी पनि बन्धकमा पर्नुभएको छ । उहा सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल जानुभएको थियो ।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुग्नुभएको थियो । विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्नहुन्थ्यो । असोज २० गते शनिबार हमासको आक्रमणमा उहाहरूमध्ये १० मारिनुभयो।
हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बस्नुभएको थियो। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए।
पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन्।
दुई पक्षबीच युद्धविराम हुँदा नेपालका विपिन जोशी फर्केर आउने आश बढेको छ।
सोमबार संसदीय समितिको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले विपिन जोशी जिवित रहेको र चाँडै नेपाल फर्कने बताउनुभएको थियो ।

