पुस ३
गेरुवा,बर्दिया— नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितका प्रतिनिधिबीच संयुक्त बैठक सम्पन्न भएको छ ।
कर्णाली नदी जलाधार क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ओखरीया इन्टेक क्षेत्रमा बुधबार भएको बैठकले कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको छ । कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको विषयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको बीचमा बुधबार सम्पन्न संयुक्त संवादले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यदल गठन गरिएको छ ।
कार्यदलमा सुदूरपश्चिम प्रदेश सरकारका सचिव सदस्य, दुवै प्रदेशका वन मन्त्रालयका प्रतिनिधि, नदी तटीय क्षेत्रसँग जोडिएका स्थानीय तहका प्रतिनिधि, निकुञ्जका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधिलगायत सदस्य रहने छन् । सुझाव कार्यदलको सदस्य सचिवमा संवाद समूहको प्रतिनिधि रहने निर्णय भएको छ । समितिले तीन तहका सरकारसँग जोडिएका समस्याको पहिचान गर्ने र समाधानका लागि विकल्पसहित प्राथमिकता निर्धारण गरेर सुझाव दिनेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई प्रदेशको बीचमा प्राकृतिक स्रोतको संरक्षण तथा सदुपयोगलगायत सिमानाको समस्या समाधान गर्नेगरी सुझाव कार्यदल गठन गरिएको जानकारी दिनुभयो । ‘समस्याको पहिचान गरेर वर्गीकरण गर्ने र सुझाव दिने जिम्मेवारी कार्यदलको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले के गर्ने भन्ने बारेमा समेत सुझाव संकलन हुनेछ ।’ समस्या समाधान गरे निकास निकाल्न सकिने र त्यसका लागी प्रदेश सरकारले पहल लिने बताउनुभयो ।
‘गेरुवा, राजापुरको मात्रै समस्या होइन, यो समस्या सिंगो प्रदेशको समस्या हो । समस्या समाधानको निकास निकाल्न सकिन्छ,’ उहाले भन्नुभयो, ‘दुवै प्रदेशले संयुक्त पहल लिन्छौं । कार्यदलले भूमिका बढाउँछ ।’ राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन संशोधन जरुरी रहेको र त्यसका लागि प्रधानमन्त्री समक्षसमेत अनुरोध गरेको उहाले बताउनुभयो ।
‘वि।सं। २०२९ सालमा बनेको निकुञ्ज संरक्षण ऐन संशोधन गर्नुपर्छ भनेर पहल लिएका छौं । प्रधानमन्त्रीसँग भएको बैठकमा पनि यो विषय उठाएका छौं,’ उनले भने, ‘समस्या पहिचान गर्न पटकपटक बसाई गरेका छौं । हामी समस्या समाधान गर्नेगरी अघि बढेका छौं ।’ यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यदलको जिम्मेवारीभित्र हालसम्म भएका कामहरुको दस्तावेजीकरण गर्ने, सुझावहरुको संकलन गर्ने, ऐन, कानुनहरुको अध्ययन गर्ने, बजेट तथा कार्यक्रमबारे जानकारी लिने लगायत रहने बताउनुभयो । ‘सुझावको आधारमा सुधारका काम अघि बढ्छन्’, उहाले भन्नुभयो, ‘संघीयतालाई बलियो बनाउन प्रदेश तहमा सहकार्य, समन्वय जरुरी छ । यसको सुरुवात लुम्बिनी र सुदुरपश्चिमबाट भएको छ ।’
संवाद समूहले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री सीता शर्मा चौधरी, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम लगायतको सहभागिता रहेको थियो ।
गत वर्ष पनि यसैगरी दुवै प्रदेशका मुख्यमन्त्रीस्तरीय संयुक्त संवाद गरिएको सामाजिक विकासमन्त्री तिमिल्सिनाले बताउनुभयो । संयुक्त संवादमा संघीय सांसद लालबीर चौधरी, लुम्बिनी प्रदेशका पूर्व भौतिक पूबार्धार मन्त्री धर्मबहादुर चौधरी,लुम्बिनी प्रदेशका मुख्य सल्लाहाकार लक्ष्मण ज्ञवाली,लुम्बिनी प्रदेशका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर रावत, लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्त र सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा.कमल प्रसाद पोख्रेल,जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर बिष्ट,राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरी,गेरुवा गाँउपालिकाका प्रमुख जमान सिंह केसी,लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाही र जानकी गाँउपालिका प्रमुख गणेश चौधरी,बर्दिया राष्टिय निकुञ्जका प्रमुख अशोक राम,प्रकृति संरक्षण अभियान्ता बिजय श्रेष्ठ र मुल कुलो समितिका सोमप्रसाद चौधरी,स्थानीय मीनराज चौधरी,मध्यवर्ती क्षेत्र संर्घष समितिका गणेश अर्यालले कर्णाली नदिको नदिजन्य बस्तुको उपयोग,संरक्षण र ब्यबस्थापनमा स्थानीय तह,नागरिकको अधिकार सुनिश्चीत हुने गरि कानुन बनाउनुपर्ने सुझाब दिनुभयो । संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजिकरण गर्नुभएको थियो । स्वागत गेरुवा गाँउपालिकाका प्रमुख जमान सिंह केसी र अवधारणा पत्र सहजकर्ता कर्ण बहादुर शाहले वाचन गर्नुभएको थियो । संवाद समुहले यो सवाल ब्यबस्थापन र रुपान्तरणका लागि २०८० असारदेखि संवाद गर्दै आएको छ भने गत २०८० पुस ३ गते ठाकुरद्धारामा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयुक्त संवाद गराएको थियो ।
कर्णाली नदीको स्रोत उपभोग समस्या समाधान गर्न सचिव स्तरीय सुझाव कार्यदल गठन

