ब्रेकिङ न्युज
Thu. Feb 12th, 2026

धावनमार्ग विस्तारका लागि विदेशी वायुसेवा कम्पनीको उडान कटौती, भाडा दोब्बरभन्दा बढी

कार्तिक २३
हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् । त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् । यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो ।
धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि त्रिभुवन विमानस्थल शुक्रबार -कात्तिक २३_ देखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने जनाएको छ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती भएको हो । दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका हुन् ।
सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ को नीति सबै रोजगारदाताले पूर्ण रूपमा लागू नगर्दा धेरैजसो श्रमिकले हवाई भाडा वृद्धिको मार खेप्नुपरेको छ । खाडी र मलेसियामा करिब ४ प्रतिशत श्रमिक मात्र शून्य लागतमा गइरहेका छन् । खाडी तथा मलेसिया उड्न हवाई कम्पनीले सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध गराउँदै आएका थिए । अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ ।
नेपालीको रोजगारीका प्रमुख गन्तव्यहरू सबैको हवाई भाडामा अत्यधिक बृद्धि भएको छ । दुबईको भाडा बढेर ८० हजार पुगेको छ । जबकि यसअघि कामदारले दुबईका लागि ३० देखि ३५ हजार मात्र तिरे पुग्थ्यो । साउदी अरबका रियाद र दमामका लागि एकतर्फी भाडा ४० देखि ४५ हजार रहेकोमा बढेर ८० हजारभन्दा माथि पुगेको छ । त्यस्तै नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको क्वालालम्पुरको एकतर्फी भाडा ३५ हजार मात्र रहेकोमा त्यो बढेर भाडा औसतमा ६५ हजार पुगेको छ । कुवेतको भाडा ४५ हजार रहेकोमा १ लाख नाघेको छ । त्यस्तै दोहाको भाडा ३५–४० हजार रहेकोमा त्यो बढेर ८० हजार बढी छ ।
भाडा वृद्धिले वैदेशिक रोजगारमा जाने श्रमिकको लागत शुल्क थप बढाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *