काठमाडौं,२२ असोज
गत हप्ता आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान खानेपानी मन्त्रालयले गरेको छ ।
११ र १२ असोजको भीषण वर्षापछि आएको बाढीपहिरोले १ हजार ६ सय १६ आयोजनामा क्षति पुगेको र २५ लाख जनसंख्यालाई प्रत्यक्ष रूपमा असर परेको खानेपानी मन्त्रालयको प्रारम्भिक अनुमान रहेको छ ।
यस्तै ५८ जिल्लाका ५ लाख घरधुरी प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सीडीई वीरेन्द्र कँडेलका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरी लगायत जिल्लामा धेरै क्षति पुगेको छ ।
उहाका अनुसार सबैभन्दा धेरै क्षति काठमाडौं उपत्यका खानेपानी लिमिटेडको केयूकेएलको १ अर्ब रुपैयाँ रहेको छ । काभ्रेको तेमाल खानेपानी आयोजनामा १० करोड क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न आयोजनाहरूमा इन्टेक, सम्प बेल, पाइपलाइन, पानी ट्यांकी, प्रशोधन प्लान्टमा क्षति पुगेको छ ।
यस्तै जीआई पाइप, एचडीपीई पाइपहरू बगाएको छ । फोहोर पानी प्रशोधन प्लान्टहरूमा क्षति पुगेको भन्दै मन्त्रालय संरचनामा क्षति पुर्‍याए पनि यकिन विवरण अहिलेसम्म संकलन गर्न सकेको छैन ।
अविरल वर्षाले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयो। बाढीपहिरो गएकै दिन मन्त्रालयमा आकस्मिक बैठक डाकेर प्रणालीको क्षति र पुनर्स्थापनाका रणनीतिमा छलफल गरेर काम गरिरहेको उहाले बताउनुभयो ।
खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गरेर जनतालाई नियमित पानी आपूर्तिमा कुनै बाधा नपुग्ने सुनिश्चित गर्न, आवश्यक प्राविधिक सहायता र स्रोतसाधन तुरुन्त परिचालन गर्ने निर्देशन दिइसकेको उनले बताए ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *