१९ कार्तिक, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि अब प्रतिपक्षमा बस्ने बताए । सरकारलाई दिएको समर्थनका बारेमा पछि निर्णय गर्ने उहाले बताउनुभयो ।
मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै उनले सत्तारूढ गठबन्धन सहभागी भएपछि सरकारबाट एमाले बाहिरिएको बताउनुभयो ।
शनिबार नेकपा एमालेका नेताहरूले समर्थन फिर्ता लिए के हुन्छ भन्ने विषयमा छलफल गरेका थिए । तत्काल केही जटिलता भएका कारण फिर्ता लिने विषयमा कानुनी परामर्श गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी सांसदले व्यक्तिगत रूपमा समर्थन गरेका कारण फिर्ता पनि सोही अनुसार हुने बताउनुभयो । कानुनी जटिलता देखिएका कारण थप परामर्शपछि समर्थन गरिरहने कि नगर्ने भन्रे निष्कर्षमा पुग्ने उहाले बताउनुभयो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
२८ असोजमा सपथग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र काङ्ग्रेसबाट समशेर राईलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । कार्तिक १ गते उहाँलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा उहाले ८६ जनाको समर्थन पाउनुभएको थियो। एमालेका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्री कार्कीले फेरि विश्वासको मत परीक्षण गर्नुपर्ने हुन्छ । उहालाई समर्थन गर्ने सत्तारुढ गठबन्धनमा ४७ जना सांसद छन् ।
एमालेका सांसदले समर्थन फिर्ता लिए राप्रपालाई सहभागी गराउने मुख्यमन्त्री कार्कीसँग विकल्प छ । राप्रपा सरकारमा सहभागी भएको अवस्थामा उहाको पक्षमा ५३ जना सांसद हुनेछन् ।
सहमतीय सरकारको ढोका खुल्ला
नेकपा एमाले सरकारबाट बाहिरिएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो सधैं खुल्ला हुने बताउनुभयो।
सरकार गठन गर्दा एमालेले गरेको सहयोग बिर्सन नसक्ने बताउँदै उहाले सहमतीय सरकारको बाटो खुल्ला रहने बताउनुभयो।
शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेबाट मन्त्री बनेका राम रानाले शनिबार पदबाट राजीनामा दिनुभयो। एमाले सरकारबाट बाहिरिएपछि पत्रकार सम्मेलन गरेका कार्कीले प्रदेशको समृद्धिका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
एमालेले समर्थन फिर्ता नलिने बताउँदै मुख्यमन्त्री कार्कीले समर्थन फिर्ता लिए आफूसँग थप विकल्पहरू रहेको बताउनुभयो ।
