१९ कार्तिक
शुक्रबार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताउनुभएको छ ।
उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्कटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उहाँले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गर्नुभएको छ ।
मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालयअन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ । यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै अहिले त्यस क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी आकस्मिक टेलिकम्युनिकेसन क्लष्टर ९इटिसी० लाई सक्रिय बनाइ भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवाप्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ ।
प्रभावित क्षेत्रमा रहेका पीडित, उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयको आग्रहमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहत कोषमा ५० लाख रुपैयाँ सहयोग र ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुम पठायो
जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको निर्देशनमा स्वास्थ्यकर्मी सहितको टोली पठाएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको आवश्यकता बढिरहेकोले लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशनमा दाङको तुलसीपुरबाट स्वास्थ्यकर्मी र औषधिसहितको टोली हिँडेको हो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर अस्पताल, र तुलसीपुर सिटी अस्पतालबाट २० जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुमतर्फ हिँडेको छ ।
