बुधबारदेखि पानी पर्ने

By Sushil basnet १४ आश्विन २०८१, सोमबार ०७:३८ १४ आश्विन २०८१, सोमबार ०७:३८ १४ आश्विन २०८१, सोमबार ०७:३८

असोज १४
आउदो बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। तर आज सोमबार र भोली भने मुलुकभर मौसम सफा रहने छ ।
आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो ।
मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उहाले बताउनुभयो। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको छ ।
बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको छ । उहाकाअनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।
बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो।
मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए। काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो।
यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। उहाकाअनुसार मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ। यस वर्षको मनसुनयाममा औसतभन्दा बढी वर्षा भइसकेको छ। गत वर्ष र यस वर्षको सञ्चित वर्षा।
यसपटक सरदरको तुलनामा ११६ प्रतिशत वर्षा भइसकेको छ। जेठ १८ देखि असोज १३ गतेसम्मको अवधिमा १७१६.३ मिलिमिटर वर्षा भइसकेको छ।
विराटनगर, धरान, धनगढी, डडेलधुरा, धनकुटा, ताप्लेजुङ, दिपायल, सुर्खेत, घोराही, भैरहवा, जिरी, ओखलढुंगा, जोमसोम, काठमाडौं, नेपालगञ्ज, पोखरा सिमरा लगायतका स्थानमा सरदरभन्दा बढी वर्षा भएको छ। लुम्ले, जुम्ला केन्द्रमा मात्रै सरदरभन्दा कम वर्षा भएको छ।
नेपालमा मनसुनयाम (जेठ १८ देखि असोज १३) मा औसत कुल वर्षा १४७२.० मिलिमिटर हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *