दाङ,आश्विन ७
दाङका सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चामल र नुन मात्रै बिक्री हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले आइतबारदेखि र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आज सोमबारदेखि सञ्चालन गर्न थालेको दशैं तिहार लक्षित सुपथ मूल्यको पसलमा चामल र नुनमात्रै बेच्न शुरु गरिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने र उक्त पसलमा सहुलियत दरमा नुन बिक्री शुरु हुने जानकारी दिनुभयो । यस वर्ष चिनी पनि बेच्ने योजना भए पनि हालसम्म चिनी नआएकोले अझै टुङ्गो छैन । सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएका र उक्त पसलमा नुनसँगै चिनी सहुलियतमा बिक्री गरिने जानकारी दिनुभयो । गत वर्ष जस्तै यस वर्ष पनि नुनमा दुई रुपैयाँ सहुलियत दिएर अधिकतम खुद्रा दर २६ रुपैयाँ भएकोले पोकाको २४ रुपैयाँमा बिक्री गरिने जानकारी दिनुभयो । असोज ७ गतेदेखि २२ गतेसम्म चल्ने सहुलियत पसलमा चिनी पनि बिक्रीमा राख्ने तयारी भएको गुप्ताको भनाइ छ । ‘यस वर्ष नुनसँगै चिनी पनि बिक्रीमा राख्ने योजना छ तर अझै आइपुगेको छैन’– उहाँले भन्नुभयो– ‘चिनी गोदाममा झरेपछि प्रतिव्यक्ति कति दिने र कति रेटमा दिने भन्ने तय हुन्छ ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले पनि आइतबारदेखि तुलसीपुरस्थित कार्यालयमै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । स्टिम जिरा मसिनो चामल र सोना मन्सुली चामल सुपथ मूल्यमा बिक्रीका लागि राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।
सुनारका अनुसार २२ सय ५० रुपैयाँमा बिक्री गरिरहेको स्टिम जिरा मसिनो चामल अहिले छुटपछि २५ किलोको एक कट्टालाई २१ सय २५ रुपैयाँमा बेच्न शुरु गरिएको छ । चामल मात्रै भएकोले चामल मात्रै बेच्न थालिएको हो ।
२०७९ सालमा दुई सय क्वीन्टल बेच्न समर्थन दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ८० क्वीन्टल मात्रै बिक्री गर्न सफल भएपछि गत वर्ष समर्थन घटाएर एक सय क्वीन्टल बनाइएको थियो । गत वर्षको समर्थनले नपुगेकोले यस वर्ष दुई सय क्वीन्टल चामल मौज्दात राखिएको सुनारले जानकारी दिनुभयो ।
तोकिएन खसी बोकाको मूल्य
हरेक वर्ष दाङबाट दशैं, तिहार, छठपर्वको लागि खसीबोका काठमाडौं पठाइने गरेको छ । गत वर्ष पनि सात सय खसी बोका काठमाडौं पठाइएको थियो । यस वर्ष भने अझै मूल्य निर्धारण नै भएको छैन । मूल्य निर्धारण नभएको र परिपत्र पनि नआएपछि कति पठाउने भन्ने नै अन्योल छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले परिपत्र नआएकोले मूल्य निर्धारणको काम नभएको जानकारी दिनुभयो ।२०७८ मा दाङबाट एक हजार खसी बोका खरिद गरी काठमाडौं पठाइएको थियो । २०७९ सालमा पनि करिव आठ सय बढी खसी बोका खरिद गरी काठमाडौं पठाएको तथ्यांक छ । गत वर्ष सातसय खसी बोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले जनाएको छ ।
दाङ लगायतका स्थानका खसी बोकाले काठमाडौंको चाडपर्व धान्ने गरेको छ । चाडपर्वमा काठमाडौंमा ६० हजार भन्दा बढी खसी आवश्यक पर्ने गरेको छ ।
सुपथ मूल्यका दाङका पसलमा चामल र नुन छ,खसी छैन्

