काठमाडौं,१७ जेठ
बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।
थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभयो । ‘बजेटलगत्तै भन्सार दरहरु लागू हुने हो, हिजो औपचारिक छलफलकै क्रममा रह्यौं, त्यसकारण आजदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन हुन्छ’ उहाँले भन्नुभयो।
नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने उहाले बताउनुभयो । ‘उच्च भन्सार दरकै कारण नेपालमा सुनको मूल्य धेरै नै महँगो भएको छ, यसले अवैध कारोबार झन् फस्टाउन सक्ने जोखिम पनि छ’ बज्राचार्यले भन्नुभयो। बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ छ । बिहीबारको मूल्य निर्धारण केही समयपछि हुनेछ ।
त्यस्तै महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले नयाँ भन्सार दरअनुसार बैंकहरुले मूल्य जोडिसकेकाले महासंघले सोअनुसार मूल्य तय गर्ने बताउनुभयो । ‘अन्तर्राष्ट्रिय बजार मूल्य, यहाँको भन्सार दर, अमेरिकी डलरको मूल्य लगायतको हिसाव गरेर मूल्य निर्धारण हुँदै आएको छ’ उहाले भन्नुभयो ।

