राप्ती उपत्यका,१० जेठ
लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्षका लागि करिब ८ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।
गत आर्थिक वर्षमा करिव ७ खर्व ६४ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालु आर्थिक वर्षमा प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा १४।२६ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशले १४।२९ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी कुल गार्हस्थ उत्पादनको बृद्धिदर चालु आर्थिक वर्षमा चार दशमलव शून्य पाँच प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्षमा एक दशमलव ९९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
यसरी निकालिने तथ्यांकले योजना निर्माणमा सघाउ पु¥याउने र आगामी वर्षदेखि स्थानीय तहलाई समेत जोडेर तथ्यांक ल्याइने राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक मनोहर घिमिरेले बताउनुभयो । ‘
पहिलो पटक सातवटै प्रदेशमा एकैपटक प्रादेशिक तहका सूचकहरु सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै (२९.६३ प्रतिशत) योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने, सबैभन्दा न्यून (०.३४ प्रतिशत ) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्षमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२९.२७ प्रतिशत ) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३३ प्रतिशत ) मा रहने संशोधित अनुमान गरिएको थियो । लुम्बिनी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्दै गरेकाले यी तथ्यांक उपयोगी हुने देखिएको छ । प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले बृहत क्षेत्रलाई समेट्ने गरी तथ्यांक आउनुपर्ने बताउनुभयो । उहाँले अहिले सार्वजनिक भएको तथ्यांकको आधारमा प्रदेश सरकारले वार्षिक योजना र पञ्चवर्षीय योजनालाई पूर्णता दिन सकिने बताउनुभयो ।
यस्तै चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेश र सबैभन्दा थोरै मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको थियो । चालु वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन युएस डलरमा बागमती प्रदेशको दुई हजार चार सय ८४, गण्डकी प्रदेशको एक हजार पाँच सय ५७। कोशी प्रदेशको एक हजार तीन सय ३६, लुम्बिनी प्रवेशको एक हजार एक सय ५९। सुदूरपश्चिम प्रदेशको एक हजार एक सय ११, कर्णाली प्रदेशको एक हजार ६६ र मधेश प्रदेशको आठ सय ९२ हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन युएस डलरमा एक हजार चार सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन राष्ट्रिय औषत भन्दा कम रहेको देखिन्छ ।
कुल गार्हस्थ उत्पादनलगायतका सूचकहरु समेटिएको प्रादेशिक लेखा तथ्यांकको बारेमा तथ्यांक अधिकृत अवधेशकुमार शुक्लाले प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण तथ्यांक कार्यालय दाङका प्रमुख किरण पोख्रेलले गर्नुभएको थियो ।

