दाङ , ३ बैशाख
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा आज मंगलबारदेखि दुईदिने राष्ट्रिय मिडिया महोत्सव शुरु हुने भएको छ ।
दाङमा पहिलोपटक मिडिया महोत्सव शुरु हुदैछ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा आज सोमबारदेखि दुई दिने राष्ट्रिय मिडिया महोत्सव शुरु हुन लागेको हो ।
होटेल माला इन घोराहीमा हुने महोत्सवको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने पत्रकार महासंघ दाङले जनाएको छ ।
सो अवसरमा पत्रकार महासंघको साधारणसभा एवं अधिवेशनसँगै संघीयता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडिया विज्ञहरु वक्ताको रुपमा रहनुहुने छ ।
दोस्रो दिन वैशाख ४ गते मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने छन् । बहसका लागि वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीलगायत राष्ट्रियस्तरका ख्यातिप्राप्त पत्रकारहरु दाङ आउनुहुनेछ ।
मिडियासम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रियस्तरका वरिष्ठ पत्रकारहरु, मिडिया विज्ञ र जनप्रतिनिधिहरुको उपस्थितिमा मिडिया महोत्सव हुन लागेको दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो ।
दुईदिने राष्ट्रिय मिडिया महोत्सव

