ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाण्डौ,२१ चैत

नेपाली काग्रेसको संस्थापन र इतर पक्षको अडानले ईलाम २ को प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार चयनका लागि बसेको बैठक निष्कर्षविहीन भएको छ ।
संस्थापन र इतर पक्षको आआफ्नै अडानका कारण उम्मेदवार चयनमा कांग्रेसलाई सकस परेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायी र जिल्ला सभापतिसमेत रहेका डम्बर खड्कालाई इलाममा उम्मेदवार बनाउन चाहनुभएको छ तर, संस्थापन इतर पक्षले भेषराज आचार्यको नाम अघि सारेको छ । स्थानीय तहबाट उम्मेदवारको सिफारिस हुँदा पनि आचार्यको नाम एक नम्बरमा छ । दोस्रो नम्बरमा केशव थापा र तेस्रोमा मात्रै खड्काको नाम सिफारिस छ ।
नेता शेखर कोइराला, शशांक कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताले भने आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्नुभएको छ ।
तर, संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसअघिको निर्वाचनमा खड्का एमाले नेता सुवास नेम्वाङसँग झिनो मतान्तरमा पराजित भएकाले उहालाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जाने बताउनुभयो । उहाले सोमबारको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पनि खड्काकै नाम प्रस्ताव गर्नुभएको थियो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै अघिल्लो मत खण्डित भइसकेको बताउनुभयो । गत निर्वाचनमा माओवादी, एकीकृत समाजवादीले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित हुनुभएको थियो ।
देउवाले हिजो मंगलबार नै उम्मेदवार चयन गर्ने भनेर संसदीय बोर्डको बैठक डाक्नुभएको थियो । तर, उम्मेदवारकै विषयमा कुरा नमिलेपछि बैठक केहीछिन औपचारिकताका लागि बसेर टुंगिएको थियो ।
सवारी दुर्घटनामा परेर निधन भएका बझाङको प्रदेशसभा–१ का सांसद पृथ्वीबहादुर सिंहको ठाउँमा देउवाले उहाकै छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाउन खोज्नुभएको छ । तर, यस क्षेत्रमा जगतप्रसाद जोशी, सत्यराज भण्डारीबीच टिकट लिन चर्को प्रतिस्पर्धा चलेको छ ।
नेम्वाङको भदौ २६ मा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार घोषणा गरेर प्रचारमा जुटिसकेको छ । रास्वपाले मिलन लिम्बू, राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीले पनि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । माओवादीले उम्मेदवारी दिने निर्णय गरे पनि व्यक्ति छनोट गरेको छैन । बझाङमा एमालेले दमनबहादुर भण्डारी रएकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *