चितवन ,चैत्र २१
व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपी,नेकपा माओबादीका केन्द्रीय सदस्य कालीबहादुर खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । माओवादी केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख खाम १५ वर्षदेखि फरार सूचीमा थिए । ०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि तत्कालीन विद्रोही माओवादीका लडाकुलाई सेना समायोजन नभएसम्म अस्थायी शिविरमा व्यवस्थापन गरिँदाका बेला चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनका कमान्डर थिए ।
कोटेश्वरबाट अपहरण गरी ल्याइएका श्रेष्ठको हत्या भएपछि २०६५ जेठमा सोही शिविरका ब्रिगेड कमान्डर जीवित भनिने गोविन्दबहादुर बटालाले आफैं चितवन प्रहरीमा गएर आत्मसमर्पण गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा खाम र बटालासहितका लडाकुले श्रेष्ठको हत्या गरेको खुलासा भएको थियो । प्रहरीमा आत्मसमर्पण गरेका बटालाविरुद्ध अनुसन्धानपछि मुद्दा दायर भएको थियो । अदालतले तोकेको सजाय काटेर बटाला छुटि सकेका छन् । हत्याका मुख्य योजनाकारका रूपमा किटान गरिएका खाम भने त्यसपछि फरार भएका थिए ।
श्रेष्ठलाई २०६५ वैशाख १५ को राति कोटेश्वरबाट अपहरण गरी शक्तिखोर पुर्याइएको थियो । श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजन ९शक्तिखोर० को सम्पर्क कार्यालय थियो । उक्त घरबाट १५ लाख रुपैयाँभन्दा बढी नगद र हतियार हराएको विषयमा छानबिन गर्न भन्दै श्रेष्ठलाई खामकै योजनामा शक्तिखोर ल्याइएको बटालाले प्रहरी बयानमै उल्लेख गरेका थिए । शिविरभित्रै वैशाख २७ मा श्रेष्ठको शंकास्पद मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टले मृत्यु कुटपिटका कारण भएको देखाएको थियो ।
लडाकु शिविरभित्र श्रीमान्को हत्या भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खाम, बटाला, केशव अधिकारी रघु तथा गंगाबहादुर थापा एटम सहितका लडाकुविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । त्यसपछि अनुसन्धान टुंगिएर अदालतमा पुगेको अभियोगअनुसार बटाला, अधिकारी र थापालाई सर्वस्वसहित जन्मकैद र खामको आदेशमा हत्या भएको उल्लेख गरेर उनीविरुद्ध १० देखि १५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले अधिकतम कैद सजाय माग गरे पनि प्रमाण नपुग्ने भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश भोजराज अधिकारीको इजलासले ०६८ जेठ १७ मा बटालालाई तीन वर्ष मात्रै कैद हुने फैसला सुनाएको थियो । श्रेष्ठसहित अधिकारी र थापामाथि चोरी अभियोग लागेको र छानबिनका लागि एउटै कोठामा राखेका बेलामा श्रेष्ठमाथि कुटपिट गरेको बयान बटालाले दिएका थिए । २०६४ चैत राति श्रेष्ठसहितले पेस्तोल र १७ लाख रुपैयाँ चोरेको आरोपमा अपहरण गरी शक्तिखोर पुर्याइएको थियो । पछि पेस्तोल र पैसा भेटियो, तर श्रेष्ठ लडाकुबाट मारिनुभएको थियो ।
बटालाले आफ्नो बयानमा शिविरमै कुटपिटबाट घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको तथा थापा र अधिकारीको करले श्रेष्ठको शव त्रिशूली नदीमा फालेको जिकिर गरेका थिए । तर बटालाको बयानविपरीत श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको तथ्य सार्वजनिक गरिएको थियो । पछि बटालाले भनेझैं वैशाख २७ मा मारेर त्रिशूलीमा फालेको भनिएका श्रेष्ठको शव जेठ १२ मा फालिएको भनिएको ठाउँभन्दा केही तल जुगेडीस्थित त्रिशूलीमै फेला परेको थियो । बटाला २०६५ जेठ ३ मा आफैं प्रहरीमा उपस्थित भएका थिए । अधिकारी र थापा शव फ्याँकेर फरार भएको बटालाको बयान थियो । हत्या आरोपित खाम त्यतिबेला माओवादी केन्द्रीय सदस्यसमेत थिए ।
घटनापछि खामलाई पार्टीले निलम्बन गरेको थियो । तर हेटौंडामा भएको माओवादी महाधिवेशनले उनलाई फेरि केन्द्रीय सदस्य चयन गरेको थियो ।

