आज साँझ ५ः४५ देखि १७ वैशाख बिहान ७ः४५ सम्म सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका बन्द गर्न र कमजोर संरचना नजिक नबस्न सावधानी अपनाउन आह्वान गरेको छ।
मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने भएकाले देशभर सतर्कता अपनाउन अनुरोध गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ ।
विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ
सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्तालगायतबाट बनेको छाने कमजोर छ भने बन्धन बलियो बनाउन, घरबाहिर आगो नबाल्न प्राधिकरणले सुझाव दिएको छ ।
यसैगरी लड्नसक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन पनि सुझाइएको छ ।
यसैगरी जल तथा मौसम विज्ञान विभागले आज पनि मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने प्रणालीले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।

