चैत्र २१
वैदेशिक रोजगारमा जाने श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिए सरकारले कारबाही गर्ने जनाएको छ । व्यवसायी संघले भने १० हजार सेवा शुल्क अव्यावहारिक भएको र अधिकांश रोजगारदाताले श्रमिकको लागत खर्च नबेहोर्ने बताएका छन्। सरकारले श्रमिकलाई तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा उजुरी गर्न आग्रह गर्दै, त्रिभुवन विमानस्थलमा समेत सोधपुछ सुरु गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले शनिबार एक भिडियो सन्देश जारी गर्दै यो नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको सन्देश दिनुभएको छ । ‘हाल सरकारले इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले १० हजार मात्रै सेवा शुल्क लिई वैदेशिक रोजगारमा पठाउने प्रावधान छ,’ भिडियो सन्देशमा उहाले भन्नुभएको छ, ‘कोही कसैले उल्लिखित शुल्कभन्दा बढी रकम उठाएको, मागेको वा यससम्बन्धी अन्य गुनासो भए तत्काल सम्पर्क गरी आफूलाई परेको गुनासो वा समस्या टिपाउन सम्बन्धित सबैलाई यस मन्त्रालय हार्दिक अपिल गर्दछ ।’
उहाले बढी शुल्क लिएको अवस्थामा उजुरी गर्न हेलो सरकार ९११११० र श्रमधान कल सेन्टर ९११४१० मा जानकारी दिन अनुरोध गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारमा जाने युवालाई तोकिएभन्दा बढी शुल्क लिएको वा नलिएको भनेर त्रिभुवन विमानस्थलमा समेत सोधपुछ गर्न थालेको छ । बढी रकम लिने म्यानपावर कम्पनीलाई विवरण पठाउन वैदेशिक रोजगार विभागले पत्राचार गर्न थालेको छ ।
तत्कालीन राज्यमन्त्री टेकबहादुर गुरुङका पालामा ०७२ जेठ २६ गते प्रमुख गन्तव्य मुलुक साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जाने श्रमिकको लागि फ्रि भिसा, फ्रि टिकटको नीति भन्दै श्रमिकसँग सेवाशुल्कबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको हो ।

