माघ ११
आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्का हिमपात हुन सक्ने मौमविद्को अनुमान छ । पूर्वी तथा मध्य तराईका थोरै ठाउँमा बिहानीपख हुस्सु लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रका धेरैजसो जिल्लामा अस्ति शुक्रवार बेलुकादेखि बदलीसहित वर्षा र हिमपात भएको हो ।
मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आजदेखि क्रमिकरुपमा घाम लाग्नेछ । तर उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट वर्षा र हिमपातको सम्भावना कायमै छ । हिजो जुम्ला, डोल्पा, दार्चुला, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा कतै हल्का वर्षा, केही जिल्लामा हल्का वर्षासँगै हिमपात पनि भएको थियो ।
त्यस्तै गएराति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपात र सामान्यवर्षा भएको छ । लामो खडेरीपछि भएको वर्षा र हिमपातले चिसो बढेको छ । तर यसले किसानलाई राहत भएको छ ।
सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगाएको गहुँ, जौ, केराउ, मुसुरोजस्ता बाली सुक्न थालेका बेला पानी परेको हो । यस्तै आउँदो मंगलवारदेखि बुधबारसम्म फेरि अर्को प्रणाली आएर वर्षा तथा हिमपात गराउने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ ।

