पुस १२

एक अध्ययनअनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टामा मात्रै पाँच सय भन्दा बढी बालबालिका छन् । त्यसो त भक्तपुरका चारवटा इँटाभट्टालाई बालश्रममुक्त घोषणा गरिएको पाँच वर्ष भयो । तर कुनै अनुगमन छैन । अहिले तिनै इँटाभट्टामा बालश्रमिक छन् । नियमनकारी निकाय नहुँदा बालश्रम रोक्न सकिएको छैन ।
इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले इँटाभट्टालाई बालश्रम मुक्त बनाउन खोजे पनि अभिभावकसँगै आउने बालबालिकालाई रोक्न नसकिएको बताउनुहुन्छ । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट मजदुरसँगै आउने बालबालिकालाई काम नलाउ भने पनि अभिभावकले काम लगाउने गरेको व्यवसायीको गुनासो छ । अहिले बालबालिकाको पढाइका लागि स्कूल पठाउने व्यवस्था गरेको बताउँदै नाइकेसँगै आउने बालबालिकालाई काममा नलगाउने गरेपछि आउन छाडेको उहाँ बताउनुहुन्छ । इँटाभट्टामा पहिलाको जस्तो बालश्रम नरहेको उहाँको दाबी छ ।

बालश्रमको क्षेत्रमा विगत ३१ वर्षदेखि काम गर्दै आएको संस्था समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) की अध्यक्ष विमला ज्ञवालीले अहिले ११ लाख बालबालिका कुनै न कुनै श्रममा आबद्ध रहेको बताउनुहुन्छ । आफ्नो संस्थाले बालश्रम रोक्न गाउँमै अभिभावकलाई स्वरोजगार बनाउने कार्यक्रमसमेत रामेछाप, सिन्धुपाल्चोकलगायतमा शुरु गरेको उल्लेख गर्दै सरकारले अभिभावकलाई गाउँमै स्वरोजगार बनाउन सके बालश्रम रोक्न सहज हुने बताउनुहुन्छ । बाल अधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुहुन्छ । बालश्रममा आउनुको मुख्य कारण गरिबी नै रहेको उहाँको भनाइ छ । गाउँ–गाउँका स्थानीय सरकारले स्वरोजगार बढाउन सके बालश्रम रोकिने उहाँको भनाइ छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *