असोज १५ गते
आज नवरात्रको अन्तिम दिन अर्थात महानवमी हो र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। देशभरका विभिन्न शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरिएको छ। दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक(फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।
भोलि विहीबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुने छ।
माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।
सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छ । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
यही विश्वासका साथ आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्री देवीको पूजा गर्नेहरुको भिडभाड छ । शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरिएको छ । यो क्रम आजसम्म जारी रहन्छ ।
आज रातिबाट नवरात्र सकिएसँगै भोलि विहीबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यस वर्ष पनि विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसादको रुपमा टीका र जमरा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।