ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

जेन जी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिने

भदौ ३०
सरकारले जेन जी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो । त्यस्तै ,आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जेन(जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । यो दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
यस्तै बैठकले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।
यस्तै सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बैठकले आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले भदौ २३ र २४ भएको आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको नाममा जेन(जी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेश गरेको सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् विस्तारपछि आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *