ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ अर्थात जेनजीको प्रदर्शन

२२ गते

पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित जेनजी पुस्ताले यसपालि भर्चुअल शक्तिलाई सडकमा उतार्दै छन् । नयाँ पुस्ता जेनजीले आज ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
यो आन्दोलन सामाजिक सञ्जाल बन्द र नेताका छोराछोरीको विलासी जीवनशैलीविरुद्धको ुनेपो बेबी ट्रेण्डुसँग जोडिएको छ।
सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलनले देशभर युवाहरूलाई भ्रष्टाचार र असमानताको मुद्दामा सडकमा ल्याउने अपेक्षा गरिएको छ।
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।
उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । यसको नेतृत्व कसले गर्छ, थाहा छैन । कसले सम्हाल्छ थाहा छैन । तर, उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ ।
टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।
यो आफैँमा कति लामो जान्छ वा सामाजिक सञ्जालमा हल्ला भएजस्तो प्रभाव पार्छरपार्दैन समयले देखाउला । तर, सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।
यी सबै परिदृश्य हेरिरहँदा नेपाल फेरि युवाले उठाएको नयाँ आन्दोलनको तयारीमा रहेको बुझाइ पनि कतिपयको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू असन्तुष्ट देखिन्छन् ।
नेपालसम्म यसरी यो अभियान आउनुमा फिलिपिन्स र इन्डोनेसियामा चलेको यस्तै अभियानलाई कारण मान्न सकिन्छ ।
यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटक भित्र देखिएको ट्रेन्डसँग जोडिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको हो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।
यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ, जसमा विभिन्न धुन र भावनात्मक रुपमा उत्तेजित गराउने संगीत राख्दै नेताका छोराछोरीको विलाशितालाई देखाइएको छ । उनीहरुको विलाशितासँगै जनताका छोराछोरीको अवस्थालाई पनि देखाइन्छ ।
सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड बढ्दो छ । यसमा ह्यासट्याग ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ जस्ता अभियान चलाइएको छ । नेताका छोरीछोरीको विदेश शयर, विलासी सामान प्रयोगदेखि अन्य ऐसआराम देखाइँदा नागरिकका छोराछोरी विदेशिइरहेको, काठका बाकसमा लास भित्रिएको, अनि गाउँघरमा दुस्ख पाएका दृश्य देखाइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *