प्रबृत्ति शाह
तुलसीपुर,१४ भदौ
१० बर्षे द्धन्दका समयमा बेपत्ता पारिएका आफ्ना परिवारको अबस्थाको वास्तविक्ता भनिदिन दाङका द्धन्दपीडितहरुले माग गरेका छन् । अगष्ट ३० का दिन १३ औ अन्तराष्ट्रिय बेपत्ता बिरुद्धको दिवसका अवसरमा आयोजना गरिएको जान्न पाउने अधिकार, उनीहरु बिर्सिएका छैनन् , परिवारहरुले जवाफ पाउनैपर्छ, खोजी जारी छ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बेपत्ता पारिएको दुई दशक भन्दा बढि समय बिति सक्दा समेत आफूहरुको तर्फबाट खोजी जारि रहेको बताए । तर राज्यको तर्फबाट खासै चासो देखाएको महसुस आफूहरुले पाएको बताएका हुन ।
नेपाल रेडक्रस सोसाईटी दाङ शाखा,द्धन्दपीडित परिवार दाङ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनमा शनिबार तुलसीपुरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरु द्धन्दपीडित परिवारका सदस्यहरुको माग थियो, बेपत्ताहरुको अबस्थाको जानकारी पाउनु पर्ने हाम्रो अधिकार हो । संबिधानमा भएको मौलिक हकको ब्यबस्थालाई समेत राज्यले स्वीकार गर्न छैन,उनीहरुले बताए ।
दाङ जिल्लामा बेपत्ताको संख्या नेपाल सरकारले १२६ जनाको तथ्यांक दिएपनि नेपाल रेडक्रसको अध्ययनका आधारमा दाङमा ८४ जना बेपत्ताको सूचि छ । शनिबारको कार्यक्रममा सहभागिहरु मध्ये २ दर्जन बढी बेपत्ता परिवारका सदस्यहरुले बेपत्ता पारिएका उनीहरुको पर्खाइमा रहेको बताएका हुन ।
के कारणले बेपत्ता बनाइयो ? राज्यले यसको जवाफ दिनुपर्छ ।’ उनीहरुले धेरै वर्षसम्म खोजी पनि गरेको बताउँछन् तर न लाश न सास केही फेला पार्न नसकेको उनीहरुको गुनासो छ ।
आफ्ना ससुरा बेपत्ता पारिएका भन्दै बर्षा बुढाथोकी र सुष्मा चौधरीले खोज्न नछोडेको तर राज्यले भूमिका निर्वाह गर्न नसकेको गुनासो गर्नुभयो । श्रीकृष्ण आचार्यले भन्नुभयो, मेरो बुवालाई बेपत्ता पारियो, ठुला बुवासँग सम्पत्तिको भागभण्डा गर्न कानूनी रुपमा समस्या भएको बताउनुभयो । कार्यक्रममा द्धन्दपीडित सञ्जाल दाङका अध्यक्ष प्रकास चौधरीले तीन तहको सरकार मध्ये स्थानीय तहबाट अझ धेरै आशा गरेको बताउनुभयो । स्थानीय तहबाट सम्मान र सम्बोधनको अपेक्षा गरिएको भएपनि द्धन्द पीडित परिवारका लागि खासै सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुको जवाफ दिनुहुदै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाले संक्रमणकालीन न्याय मार्फत समस्याको सम्बोधन गर्नुपर्नेमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग राजनीतिक दलको भर्ती केन्द्र मात्र भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, द्धन्दपीडित परिवारका सदस्यहरुका १० प्रतिशत बालबालिकाहरुलाई निशुल्क शिक्षाको ब्यबस्था उपमहानगरपालिकामा गरेको जानकारी दिनुभयो । त्यसबाहेक लक्षित कार्यक्रममा समेत बिभिन्न अवसरहरु प्रदान गरिएको बताउनुभयो । संवाद समुहका बरिष्ठ सहजकर्ता एबम अधिकारकर्मी सुशील बस्नेतले तत्कालीन सशस्त्र युद्ध गरेको नेकपा माओबादी र राज्यले सत्य कुरा गर्न नसकेको बताउनुभयो । यति धेरै बर्ष बितिसक्दा पनि असत्यको राजनीतिक गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,राज्य सत्ता सञ्चालनमा तत्कालीन बिद्रोही समेत पुगेको छ । दुवै पक्षको ईच्छा शक्ति भए समस्या समाधान हुन कुनै समस्या नहुने बस्नेतले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका उपमन्त्री बिमल के.सी.ले अबस्था बिश्लेषण सहितको अबधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रकास श्रीबन्दले गर्नुभएको थियो ।
विस्तृत शान्ति सम्झौतामा सम्झौता भएको ६० दिनभित्र वेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्ने उल्लेख छ तर देशमा सशस्त्र द्वन्द्वको अन्त्यपछि सम्झौता भएको पनि १८ वर्ष बितिसकेको छ । सरकारले बेपत्ताको अवस्था सार्वजनिक गर्न सकेको छैन । नेपालमा १३२३ जना बेपत्ताको सूचि रहेको छ भने १७ हजार बढिको बिभिन्न घटनामा परि मृत्यु भएको तथ्यांक रहेको छ ।

