एमाले विधान महाधिवेशनमा विद्या भण्डारीलाई प्रवेश रोक, भण्डारी पक्षले ‘नोट अफ डिसेन्ट’

भाद्र १०

एमालेले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई प्रवेश गर्न नदिने निर्णय गरेको छ।
नेकपा एमालेले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा राखिएको छ ।
महाधिवेशनमा सहभागी हुनका लागि निर्वाचित प्रतिनिधि मात्र उपस्थित हुने प्रावधान रहेको एमालेले जनाएको छ। जसका कारण उहाँलाई पार्टी राजनीतिमा आउन रोक लगाइएको छ।
२०–२२ भदौमा काठमाडौंमा हुने एमालेले आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीलाई प्रवेश गर्न नदिने भएको छ ।
साउन पहिलो साताको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्दै पार्टी राजनीतिमा आउन रोक लगाएको थियो । उनी महाधिवेशन प्रतिनिधि नभएकाले विधान महाधिवेशनमा सहभागी हुने आधार नभएको एमालेले जनाएको छ । ‘पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा आमन्त्रण गर्ने प्रावधान विधानमा छैन,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘राष्ट्रिय महाधिवेशनमा निर्वाचित प्रतिनिधि मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा जसले नेतृत्व छान्छ, उसले नीति बनाउने विधान महाधिवेशन हो ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २०७२ मा राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले सदस्यता त्यागेकाले नयाँ सदस्यता लिनुपर्ने तर्क गर्नुभएको छ ।। ‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोप आएको छ । राष्ट्रपति हुने बेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो,’ ओलीले शुक्रबार भन्नुभएको थियो, ‘रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर रसिद लिएर त हुँदैन नि । छाडेको सदस्यता नवीकरण हुँदैन ।’
पूर्वराष्ट्रपति भण्डारीले भने आफ्नो सदस्यता नवीकरण भइसकेको दाबी गर्दै आउनुभएको छ । बिहीबार थापागाउँमा सम्पर्क कार्यालय सुरु गर्दै भण्डारीले आफ्नो सदस्यतामा पार्टी केन्द्रीय कार्यालयले प्रश्न उठाएकामा आपत्ति जनाउनुभएको थियो । २०३७ सालमा सदस्यता लिएको हुँ । ४५ वर्ष भएछ’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको शपथ खाने बेला एमालेको सदस्य भएको ३५ वर्ष पुगेको थियो ।’
भण्डारी पक्षका एक नेताले ‘गणतन्त्र गौरव’ बाट पार्टीले सम्मान गरेको पूर्वराष्ट्रपतिलाई विधान महाधिवेशनमा रोक लगाउनु गलत भएको टिप्पणी गर्नुभयो । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई गत वर्ष ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको थियो ।
यसैबिच, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्ने, सक्रिय राजनीतिमा आउन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेताहरूले विधान महाधिवेशनसम्म पनि आफ्नो मत राख्ने जनाएका छन् ।
अध्यक्ष ओलीको नेतृत्वमा ल्याइने राजनीतिक र महासचिव शंकर पोखरेलले तयार पार्ने सांगठनिक प्रतिवेदनमा पूर्वराष्ट्रपति भण्डारीलाई रोक्ने प्रस्ताव आए फरक मत राख्ने पनि उहाँहरुको तयारी छ । भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाइएपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले केन्द्रीय कमिटी बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक रूपमा उक्त निर्णयको विरोध गर्नुभएको थियो ।
अन्तर पार्टी निर्देशन (अपानि) मा ‘नोट अफ डिसेन्ट’ नपठाएको भन्दै ज्ञवाली र पाण्डेले केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ ।
उपाध्यक्ष ज्ञवालीले फरक मत विधान मस्यौदासँगै तलैसम्म लैजानुपर्नेमा पार्टी निर्णय मात्र पठाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।
एमालेले यो विधान महाधिवेशनसम्म ७ लाख ५० हजार सदस्य पुर्‍याउने लक्ष्य राखेको थियो । हाल करिब छ लाख सदस्यता नवीकरण भएको एमालेको दाबी छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशनमा २ हजार ३ सय ७९ प्रतिनिधि सहभागी हुनेछन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *