१० भदौ

हरितालिका तीज पर्व, आज व्रतालुले शिव–पार्वतीको पूजा आराधना गर्दै मनाउदै छन् । भाद्र शुक्ल तृतीयाका दिन धार्मीक मान्यता अनुसार व्रतालुले निराहार ब्रत बस्ने गर्दछन् । तर, स्वास्थ्यकर्मीहरुका अनुसार ब्रत बस्दा जलाहार वा फलाहार गरी व्रत बस्दा हुन्छ । तीज पर्व माइती र दाजुभाइले छोरीचेलीलाई दर खुवाएर सुरु गरी ऋषि पञ्चमीसम्म मनाइन्छ।
आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।
तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउँनुहुन्छ। स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उहाको भनाइ छ ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधानसमेत छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसैबिच लुम्बिनी प्रदेशले सावजनिक बिदा दिएको छ भने अन्य प्रदेशमा महिलाहरुका लागि मात्र बिदा दिइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *