भदौ १ गते
आमा र बुवामध्ये एकजनाको नाम लेखेर नागरिकता बनाउने ब्यबस्था भएको छ । तर दुइवटैको नाम नलेखेर नागरिकता बनाउने विषय स्वीकार गर्न नसकिने र यो व्यक्ति स्वयंको पहिचानका लागि समेत उचित नरहेको गृहमन्त्री लेखकले बताउनुभएको छ ।
आमालाई वंशको अधिकार दिने गरी ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ संसदीय विषयगत समितिबाट पास भएको छ ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन ऐनमा रूपान्तरित भएपछि आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानूनी मान्यता पाउनेछ । योसँगै पुरुषमा रहेको वंशको एकल अधिकार तोडिनेछ । आमा र बुवामध्ये कुनै एकबाट समेत वंशजको नागरिकताले निरन्तरता पाउनेछ ।
गृहमन्त्री रमेश लेखकका अनुुसार प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि आमा वा बुवामध्ये एक जनाको मात्रै नाम राखेर नागरिकता जारी हुन सक्नेछ ।
‘हाम्रो नागरिकताको सिद्धान्त भनेको राइट टू डिसेन्ट हो । वंशको आधारमा नागरिकता प्रदान गर्ने कुरा नै हाम्रो फिलोसफी हो, हाम्रो नागरिकता सम्बन्धी सिद्धान्त हो’ गृहमन्त्री लेखक भन्नुहुन्छ, ‘अब हामीले अहिले गरिराखेको (ऐन बनाइराखेको) आमा पनि वंश हो है भन्ने हो ।’
गृहमन्त्री रमेश लेखक यस्तो प्रावधान समयको माग अनुसार राख्न सरकार तयार भएको बताउँनुुभयो ।
आमा र बुवामध्ये दुइवटैको नाम नलेखेर नागरिकता बनाउने विषय स्वीकार गर्न नसकिने र यो व्यक्ति स्वयंको पहिचानका लागि समेत उचित नरहेको गृहमन्त्री लेखकले प्रष्टीकरण दिनुभयो ।
नागरिकता लिनेले विशेष परिस्थितिमा नागरिकतामा आमाको वा बुवामध्ये एक जनाको मात्रै नाम लेख्न सक्ने उहाले दोहोर्याउनुभयो ।
आमाले आफ्नो नाम र ठेगानामा सन्तानलाई नागरिकता दिलाउन बच्चाको जन्मस्थान खुलाउनुपर्ने हुन्छ । यदि विदेशमा जन्मिएको बच्चा रहेछ भने नागरिकता जारी हुन नसक्ने प्रावधान विधेयकमा राखिएको छ ।
विधेयकको प्रतिवेदनमा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता मा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको अन्य पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजको नागरिकता प्राप्त गर्नेछ ।’
नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर नेपालमै बसे वा विभिन्न कारणले सम्बन्ध विच्छेद भएर नेपाली महिला नेपालमै रहेको अवस्थामा समेत आमाको नामबाट नागरिकता दिन सक्ने विषय फेरि पनि सुल्झिएको छैन ।
तथापि, विधायन समितिबाट पास भएको आमाको नामबाट नागरिकता जारी हुने विषय स्वीकार गरेको छ । आमाको नामबाट नागरिकता जारी गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजाने बाटो खोलेको छ । तर, राखिएका शर्तहरु (स्वघोषणा) झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्नेछ ।
आमाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा आमा र उसको सन्तान दुबैले बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्ने हुन्छ । आमाको नामबाट नागरिकता प्राप्तिको निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस् ठेगानमा नरहेको अवस्थामा सो को प्रमाणसहित निवेदकले स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएको छ । गृह मन्त्रालयका अनुसार स्वघोषणाको ढाँचा नियमावलीमा तोकिनेछ ।
पारित विधेयक अनुसार बाबुको पहिचान हुन नसकेको भनी गरेको स्व घोषणा झुटो ठहरिए एक बर्र्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
स्वघोषणा झुटो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय बिद्येयकको मस्यौदामा उल्लेख छ । झुटो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वत रद्द हुनेछ ।’

