तुलसीपुर, श्रावण १

तुलसीपुर उच्च अदालतले एक वर्षभन्दा पुराना सबै मुद्दामा फैसला गरेको छ । एक वर्षभन्दा पुराना सबै मुद्दामा फैसला भइसकेको र दर्ता र फर्छयौट दुबै संख्याको हिसाबले पनि यो वर्ष अदालतको प्रदर्शन उल्लेखनीय रहेको उच्च अदालत तुलसीपुरले जनाएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा ८५ प्रतिशतभन्दा बढी मुद्दा फछयौट गरेको छ । अदालतका सूचना अधिकारी मधुसूदन पन्थीका अनुसार अदालतले चालु आर्थिक वर्षमा आठ सय ७१ मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकोमा कुल एक हजार चार सय ५७ मुद्दामध्ये एक हजार दुई सय ४३ मुद्दा फछर्यौट गरेको छ । यो लक्ष्यभन्दा करिब ४२ प्रतिशत बढी हो । तीमध्ये गत वर्षबाट जिम्मेवारी सरेका चार सय १४ र यस वर्ष दर्ता भएका एक हजार ४३ मुद्दा समेटिएका थिए । हाल अदालतमा दुई सय १४ मुद्दा मात्र बाँकी छन् ।
जसमा पनि अधिकांश अन्तिम प्रक्रिया नपुगेका कारण फैसला हुन बाँकी छन् । तीमध्ये ४५ थान मुद्दा छ महिनाभन्दा बढी र एक सय ६९ मुद्दा छ महिनाभित्र दर्ता भएका छन् ।
उच्च अदालत तुलसीपुरको क्षेत्राधिकारमा दाङ, प्युठान, रोल्पा र रुकुमकोट जिल्लाहरू छन् । लुम्बिनी प्रदेशका बुटवल र नेपालगञ्ज उच्च अदालतका इजलास पनि यस अदालत मातहतमा रहेका छन् । चार जिल्लामध्ये सबैभन्दा बढी मुद्दा दाङ जिल्ला अदालतमा दर्ता हुने गरेका छन् भने रुकुमकोट जिल्ला अदालतमा सबैभन्दा कम चाप रहेको बताइएको छ ।
थुनुवा मुद्दातर्फ, गत वर्षबाट सरेका ५९ र नयाँ दर्ता एक सय ३३ गरी जम्मा एक सय ९२ मुद्दा रहेका छन् । तीमध्ये एक सय ५५ फछर्यौट भइसकेका छन् भने ३७ मात्र बाँकी छन् । मेलमिलाप प्रक्रियामा दुई सय ४४ मुद्दा पठाइएका छन्, जुन कुल मुद्दाको ४०.६६ प्रतिशत हो । तीमध्ये दुई सय ३७ मुद्दा फछ्र्योट भएका छन् भने ७ वटा प्रक्रियामा छन् । सफल मेलमिलापको प्रतिशत ३३ रहेको छ । गत वर्षबाट सरेका नौ मुद्दा र नयाँ दर्ता दुई सय ३५ मुद्दा गरी मेलमिलापमा दुई सय ४४ मुद्दा पुगेका थिए । हाल अदालतमा सूचीकृत मेलमिलापकर्ता १२ जना रहेका छन् । अदालतमा हालसम्म १५ हजार दुई सय ९३ मुद्दाका मिसिल अभिलेखमा दर्ता भएका छन् । यस वर्षमात्रै एक हजार एक सय ६३ मिसिल दर्ता भएका छन् । पुराना मिसिलहरू स्क्यान गरी डिजिटल प्रणालीमा अपलोड गर्ने काम भइरहेको छ । हालसम्म दुई हजार तीन सय ६९ मिसिल स्क्यान भइसकेका छन् भने चालु वर्षमा मात्रै एक हजार दुई सय ५४ मिसिल स्क्यान गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *