२ फागुन
पशुपतिनाथ मन्दिरकै सम्पत्ति हिनामिनासँग जोडिएको भ्रष्टाचार मुद्दाका आरोपितहरु करिब डेढ दशकपछि कसुरदार ठहरिएका छन् ।
करिब १५ वर्षअघि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र जनप्रतिनिधिको अधिकार प्रयोग गरेका काठमाडौं जिल्ला विकास समितिका कर्मचारीहरु पशुपतिको सम्पत्ति हिनामिना गरेको आरोपमा दोषी ठहरिएका हुन् ।
पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गाको ‘ल्यान्डस्केप’ नै फेरबदल हुने गरी बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । भ्रष्टाचारको आरोपमा मुछिएकाहरुलाई सर्वोच्च अदालतले बुधबार दोषी ठहर गरेको हो । उनीहरुले विशेष अदालतबाट अस्वभाविक रुपमा सफाइ पाएका थिए ।
न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले पशुपतिनाथ मन्दिरको गोठाटारमा रहेको जग्गाबाट बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको ठहर गरेको हो । ५३४ रोपनी जग्गामा बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको ठहरसहित पशुपति क्षेत्र विकास कोषका दुई पदाधिकारीहरुलाई ६।६ वर्षका दरले कैद सजाय तोकेको छ ।
बालुवाखानी सञ्चालनको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोपमा अरु ५ कर्मचारी र दुई ठेकेदार पनि दोषी ठहर भएका छन् । अख्तियारले भ्रष्टाचार मुद्दा दायर नगर्दासम्म ठेकेदार, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र जिल्ला विकास समिति, काठमाडौंका कर्मचारीको मिलेमतोमा बालुवाखानी निर्वाध रुपमा चलेको थियो ।
पशुपति क्षेत्र विकास कोषलाई ४० करोड रुपैयाँ नोक्सान भएको दाबी भए पनि सर्वोच्च अदालतले ठेकेदारलाई १३ करोड रुपैयाँ जरिवाना गरेको छ । लोकमानसिंह कार्की अख्तियार प्रमुख भएको बेला २०७१ सालमा यो भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
२०६३।६४ ताका काठमाडौंको गोठाटार गाविस(३ स्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा गुरुयोजना बनाउन सर्वेक्षण भएको थियो । उक्त क्षेत्रमा सामुदायिक भवन, गौशाला, वृद्धाश्रम, अस्पताल, अन्तर्राष्ट्रिय धार्मिक केन्द्र बनाउने गुरुयोजना बनेको थियो ।
करिब साढे ५ सय रोपनीको त्यो क्षेत्रमा ठूलो बालुवाखानी रहेको पत्ता लाग्यो । त्यतिबेलाको सर्वेक्षणले ४ करोड २९ लाख घनमिटर बालुवा निकाल्न सकिने आकलन गर्यो । त्यसको पत्तो पाएपछि स्थानीय ठेकेदारहरुले पशुपतिनाथ मन्दिरको जग्गाबाट बालुवा निकाल्ने योजना बनाउन थाले । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले त्यसमा साथ दिए ।
काठमाडौंका बालुवाखानीमा रजगज गरेका बच्चुराम दाहाल र मिठाराम दाहाल दाजुभाइ त्यो बालुवाखानी हात पार्ने उपायमा लागे । त्यसमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव निर्मल कुइँकेल सहयोगी बने ।
पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गाको ‘ल्यान्डस्केप’ नै फेरबदल हुने गरी बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको पुष्टि भएको छ ।
करिव डेढ दशक पछि पशुपतिनाथको सम्पत्तिमा भ्रष्टाचार गरेकालाई दोषी ठहर

